इजरायलमा हमासले गरेको आक्रमणमा १० नेपालीको मृत्यु, एक सम्पर्कविहीन (नामावलीसहित)

प्यालेस्टिनी लडाकु समूह हमासले इजरालयमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। इजरालयलस्थित नेपाली दूतावासका अनुसार एक जना सम्पर्कविहीन छन् भने घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उपचाररतमध्ये दुई जनाको खुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था सामान्य छ। यस्तै दुई जना सुरक्षित छन्।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

यस्तै पाँचनली–३ डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि मृत्यु भएको छ।

शारदा–२ सल्यानका विधान सेजवाल, दगिशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुबैको खट्टामा चोट लागेको छ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल र टीकापुर–९ कैलालीका धनबहादुर चौधरी पनि अस्पतालमा छन्। उनीहरूको अवस्था सामान्य छ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित छन्।

भीमदत्त–३ कञ्चनपुरका विपिन जाेशी भने सम्पर्कविहीन छन्।

दूतावासका अनुसार मृतक १० जनाको शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ।

यसअघि आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए।

मन्त्री साउदले संसदमा दिएको जानकारीअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन्।

हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ। अहिले पनि लडाइँ जारी छ।

दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *