नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा

नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन्।

नबिल सेक्युरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीमा नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्षको हुनेछ।

दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए। आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरू गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका थिए। नबिल बैंकले नेपाल-बंगलादेश बैंकको प्राप्तिपश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए।

व्यावसायिक रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का पूर्वपार्षद तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन्।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन्। वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्युरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ।

देशकै अग्रणी नबिल बैंकले पुँजी बजारको विकास तथा व्यावसायिकता योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्युरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *