भेपमा सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरूद्ध मुद्दा चलाउन सीआईबीको राय

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको सीआईबीका एक अधिकृतले जानकारी दिए।

सीआईबीले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो।

राहुल महरासँगै दावा छिरिङ, लोकेन्द्रबहादुर पौडेल र निमा गुरूङविरूद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ। पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध भने मुद्दा चलाउनु नपर्ने सुझाव सीआईबीले दिएको छ।

चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। प्रहरीले ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने राय दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा गत वर्ष पुसमा दुईवटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो।

गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बासमेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर