इजरायल-प्यालेस्टाइन द्वन्द्व

इजरायलमा रहेका ७ जना नेपालीको मृत्यु भएको आशंका

प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो भूमिमा अचानक आक्रमण गरेपछि उससँग लडाइँमा होमिएको देश इजरालयमा रहेका ७ जना नेपालीको मृत्यु भएको आशंका गरिएको छ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा हमासको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको आशंका गरिएको हो। यद्यपि यसको आधिकारिक पुष्टि भइसकेको छैन।

इजरायलका लागि नेपालकी राजदूत कान्ता रिजालले पर्दाफाससँग घटनाका विषयमा आधिकारिक जानकारी लिने प्रयास गरिरहेको बताइन्। उनले इजरायलमा बढ्दो तनावका कारण त्यहाँका अधिकारीहरूसँग नियमित सम्पर्क स्थापित गर्न कठिनाइ भएको बताइन्।

उनले भनिन्, ‘अवस्था क्रिटिकल थियो, हामी आधिकारिक जानकारी लिने प्रयासमा छौं। अहिले नै पुष्टि गरिहाल्न सक्ने अवस्था छैन।’

उनका अनुसार घाइते १२ जना नेपाली दूतावासको सम्पर्कमा छैनन्। यस्तै घाइते ३ जना अस्पतालमा भर्ना भएकामा एक जना डिस्चार्ज भइसकेका छन्। दुई जना अहिलेसम्म बंकरभित्रै सकुशल रहेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीका अनुसार मृत्यु भएको आशंका गरिएकाहरूलाई हमास समूहको गोली लागेको थियो।

कृषि फार्ममा कार्यरत नेपालीहरू बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो। गोली लागे पनि उनीहरूले समयमा उपचार पाएका थिएनन् ।

नेपाली समयअनुसार शनिबार बिहान ६:३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले रकेटबाट आक्रमण गरेको थियो। हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएको तथा केही मानिसहरूलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ।

सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरू प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरू भएको जनाइएको छ।

इजरायलमा हाल ४,५०० नेपालीहरू केयरगिभरको रूपमा कार्यरत छन्। इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए। यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरू नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसदमा जानकारी गराएका थिए।

मन्त्री साउदले १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने बताएका थिए। इजरायलमा भएको यस दुखद घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको साउदको भनाइ छ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएर परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहने गरी समन्वय संयन्त्र गरेका छन्।

उक्त समितिले घटनाको वस्तुस्थिति बुझ्ने र घटनाको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्धार गर्नुपर्ने अवस्थाका लागि समेत कार्यादेश पाएको पनि मन्त्री साउदले बताए।

दक्षिणी इजरायलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन दिएको पनि उनको भनाइ छ। त्यस्तै इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *