इजरायलमा १२ नेपाली सम्पर्कविहीन, केही हताहत भएको आंशका

परराष्ट्रमन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराएका छन्।

नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराएका हुन्।

‘नेपाली राजदूतावास, इजरायल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौंको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ,’ परराष्ट्रमन्त्री साउदले भने।

उनका अनुसार इजरायलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुशल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ छ। इजरायलमा हाल चार हजार पाँच सय नेपाली ‘केयर गिभर’ को रूपमा कार्यरत छन्। त्यस्तै दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजरायलमा अध्ययन गरिरहेका थिए। तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिए।

इजरायलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको पनि उनले संसद्मा बताए। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएर परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहने गरी समन्वय संयन्त्र गरेका छन्।

उक्त समितिले घटनाको वस्तुस्थिति बुझ्ने र घटनाको समग्र मूल्याङ्कन गरेर इजराइलमा रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने र उद्धार गर्नुपर्ने अवस्थाका लागि समेत कार्यादेश पाएको पनि मन्त्री साउदले बताए।

दक्षिणी इजरायलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजराइलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन दिएको पनि उनको भनाइ छ। त्यस्तै इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए।

जल, हवाई र स्थलमार्गबाट हमास लडाकु इजराइलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण गरेको र त्यहाँका नागरिक बन्धक बनाउने गतिविधि भएको बुझिएको पनि मन्त्री साउदले संसद्मा बताए। त्यस्तै इजरायलको तर्फबाट जवाफी कारबाही हुँदा गाजा क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *