कास्कीको किम्रोङखोला पहिराले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण-११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरूङले बताए।

उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरू भए पनि जोखिम भने कायमै छ ।

‘गएराति किम्रोङखोला पहिराले थुनिएको हो, अहिले १५ घण्टापछि खोलामा पानी बिस्तारै बग्न थालेको छ, एक्कासि फुटेमा क्षति हुने सम्भावना भएकाले सबैलाई सुरक्षित रहन खबर गरेका छौँ,’ उनले भने ।

किम्रोङखोला वडा नं. ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ । मोदी खोला आसपासका अन्नपूर्णका वडा नं. ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङले बताए।

सम्बन्धित वडाका जनप्रतिनिधि र बिरेठाँटी तथा नयाँपुलमा रहेको प्रहरी चौकीमा खबर गरी नदी थुनिएको जानकारी सबैमा प्रेषित गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर