पञ्चेश्वर आयोजनाको डीपीआर टुंग्याउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरू
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई अन्तिम रूप दिने उद्देश्यका साथ नेपाल र भारतका उच्च अधिकारीको बैठक सुरू भएको छ ।
आजदेखि काठमडौंमा सुरू भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ । यस्तै भारतीय जल आयोग (सेन्ट्रल वाटर कमिशन) का अध्यक्ष कुशविन्दर बोहोरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।
नेपाल-भारत संयुक्त विज्ञ समूहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको समग्र पक्षका बारेमा छलफल गर्ने बताइएको छ । सो परियोजनको डीपीआर भारतीय कम्पनी वापकोसले तयार पारेको छ । गत साउन ५ र ६ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकपछि भएको प्रगतिलगायत विषयमा विज्ञ समूहको बैठकमा छलफल हुने बताइएको छ ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको भारत भ्रमणका क्रममा तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई अन्तिम रूप दिने सहमति भएको थियो । प्रधानमन्त्री दाहालले पञ्चेश्वर आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजान जोड दिँदै आएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै गत असार २१ र २२ गते पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको गभर्निङ बडीको बैठक कास्कीको पोखरामा आयोजना गरिएको थियो । सोही बैठकले डीपीआर टुङ्गो लगाउनका लागि दुवै देशका प्राविधिक सम्मिलित विज्ञ समूहको म्याद थप गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार आयोगका सचिवलगायतका अधिकारीले सोही विषयमा आवश्यक छलफल गरेको थियो ।
प्रतिक्रिया