अपर तामाकोशीको हकप्रदमा शेयरबापतको ७८ प्रतिशत रकम संकलन
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गरिरहेको छ ।
कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । मंगलबारसम्ममा सर्वसाधारण शेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले बताए ।
कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ ।
यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद शेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।
प्रतिक्रिया