ओलीलाई सापकोटाको प्रश्न- जनयुद्धका घाइते गोली बोकेको शरीर लिएर सडकमा उत्रिनुपर्ने हो?

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भन्दै आफ्नो भनाइमा पुनर्विचार गर्नुपर्ने बताए।

उनले भने, ‘प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभर्नमेन्ट’ हो। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को बैठकमा आउनुभएन भने त्यो बैठक नै अगाडि जान सक्दैन। त्यसरी हेर्दा हाम्रो संविधानमा प्रमुख प्रतिपक्षलाई ‘पार्ट अफ दि स्टेट’ का रूपमा लिइन्छ। यस्तो मूल नेताले विस्तृत शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिएर फेरि समाजमा हिजो युद्धमा गएका सबै घाइतेहरूले गोली बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो?’

उनले २०६३ साल मंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन आग्रहसमेत गरे।

उनले समाजलाई अनुशासित बनाउनका लागि सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृंखलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *