राष्ट्रिय सुरक्षा परिषद् बैठक : सेनालाई तयारी अवस्थामा रहन निर्देशन

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ।

आज सिंहरदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको परिषद्को ३१ औँ बैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरूपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको परिषद्ले जनाएको छ।

बैठकले नेपाली सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन निदेर्शनसमेत दिएको छ।

नेपाली सेनाका तल्लो तहसम्मका युनिटहरूलाई तयारी हालतमा रहन निर्देशन दिइएको हो।

पछिल्लो केही समययता सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जलगायतका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्न थालेपछि सरकारले सेनलाई यस्तो निर्देशन दिएको हो।

बैठकमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थितिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षासमेत भएको परिषद्ले जनाएको छ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९, नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर