सुपारी निर्यात सहजीकरणका लागि भारत सरकारसँग पहल गर्छौं : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी निर्यातका लागि सहजीकरण गर्न भारत सरकारसँग पहल गर्ने बताएका छन् । भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकारले पहल गर्ने उनले बताएका हुन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सुपारी व्यवसायीहरूसँग छलफल गरेर यसबारे सरकारले निर्णय लिने भन्दै उनले निर्यातका लागि भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्न पहल गर्ने जनाए ।
उनले भने, ‘भारत भन्सारबाट बारम्बार समस्या आइरहेको छ । उहाँहरूको भनेको नेपालको बिग्रेको सुपारीको बजार हो । नेपालका गुट्खा उद्योगहरूले १० देखि ३५ रूपैयाँमा बिहारमा सप्लाई गर्छन् । नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्खा उद्योगले खरिद गर्न सक्दैनन् । स्थानीय सुपारीको बजार नेपाल बजार होइन जस्तो बुझेको छु । भारत निर्यातका लागि भारत सरकारसँग सहजीकरणका लागि पत्र लेख्न पनि तयार छौं ।’
उनले नेपाल सुपारी खेती विकास संस्थालाई ‘ओरिजिन सर्टिफिकेट’ बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरूलाई भारतले नचिन्ने बताए । नेपालमा उत्पादित सुपारी गुणस्तरीय रहेकाले नेपालमा भन्दा पनि सुपारीको बजार भारत नै भएको उनको भनाई छ ।
उनले भने, ‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिन सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरुलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ । त्यसको बजार भनेको भारत नै हो ।’
प्रतिक्रिया