आफ्नै पार्टीका सांसदले मत नदिएपछि पदमुक्त भए अमेरिकी सभामुख म्याकार्थी

अमेरिकी प्रतिनिधिसभाले मंगलबार केभिन म्याकार्थीलाई सभाको सभामुख पदबाट हटाएको छ। यसका लागि भएको मतदानमा म्याकार्थीको विपक्षमा २१६ र पक्षमा २१० मत परेपछि उनी सभामुखबाट पदमुक्त भएका हुन्।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका ६ जना कट्टर समर्थक सांसदहरूले म्याकार्थीको पक्षमा भोट नदिएपछि उनी अल्पमतमा परेका हुन्। अमेरिकामा सदनका सभामुखको पद खोसिएको यो पहिलो घटना हो।

यस घटनाक्रमले रिपब्लिकनमा दुई चिरा भएको प्रस्ट देखिन्छ। त्यसभित्र अझै केभिन म्याकार्थीसँग ठूलो संख्यामा सांसद छन् भने ट्रम्पसँग थोरै छन्। यस अवस्थामा दुवैले सदनमा बहुमत जुटाउन सक्दैनन्।

रिपब्लिकन प्रतिनिधि म्याट गेट्जद्वारा आफ्नै दलका म्याकार्थीलाई सभामुखबाट प्रतिस्थापन गर्न हटाउने प्रस्ताव पेस भएको हो। यो प्रस्ताव सदनको साधारण बहुमतले पारित भयो र म्याकार्थीलाई उनको पदबाट हटाइयो।

अहिले संसदमा नयाँ सभामुख छैनन्। सदन अहिले अस्पष्ट अवस्थामा छ र सभाको नयाँ सभामुख कसले लिने भन्ने स्पष्ट छैन। यतिबेला अन्तरिम सभामुखमा उत्तर क्यारोलाइना प्रतिनिधि प्याट्रिक म्याकहेनरीलाई चुनिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *