विदेश उत्तम, स्वदेश खत्तम भन्ने सामाजिक मनोविज्ञान बन्दैछ : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विदेश उत्तम, स्वदेश खत्तम भन्ने खालको सामाजिक मनोविज्ञान बन्दै गएको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले युवाहरू बाहिरिने प्रवृत्ति बढ्दै गएको भन्दै भएका विश्वविद्यालयहरू खत्तम नभई नयाँ विश्वविद्यालयहरूले बाहिर जाने विद्यार्थीको संख्यालाई कम गर्न सकून् भनेर नयाँ विश्वविद्यालय विधेयक ल्याएको बताए।

उनले भने, ‘विदेश उत्तम, स्वदेश खत्तम भन्ने खालको मनोविज्ञान सामाजिक मनोविज्ञान नै बन्न खोजिरहेको छ। यसलाई हटाउनुपर्ने अवस्था छ। यो विद्यालय शिक्षाको माध्यमबाटै यसको सुरूआत गर्नुपर्छ। अहिले भएका विश्वविद्यालयहरू खत्तम छन् भन्ने मात्रै होइन, नयाँ विश्वविद्यालयहरू बन्दा बाहिर जाने विद्यार्थीहरूलाई पनि हामीले रोक्न सक्छौं भन्ने प्रसंग मात्रै उठाएको हो।’

उनले अहिले भएका विश्वविद्यालयहरूमा प्रधानमन्त्री, कुलपति, शिक्षामन्त्री सहकुलपति रहने ढाँचा रहेको भन्दै विश्वविद्यालयहरूलाई त्यो प्रक्रियाबाट मुक्त गरिएको बताए।

पाठ्यक्रममा नयाँ टिमले काम गर्दा विदेश पलायन हुने युवाहरूलाई केही प्रतिशत रोक्न सक्ने सम्भावना देखिएको पनि उनको भनाइ छ।

उनले भने, ‘नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक समितिमा प्रस्तुत भएको छ। हाम्रो उच्चशिक्षामा देखिएको समस्या भनेको विद्यार्थीहरू १२ कक्षा सकिएपछि देशमा अध्ययन गर्न नचाहने र उनीहरूलाई रोक्न नसकेको अवस्था छ। देशमा रोक्ने वातावरण पनि बनाउन नसकेको अवस्था छ। मन्त्रालयले त्यसबारेमा ध्यान दिनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *