आन्दोलित राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता
संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित राहत शिक्षक र सरकारबीच सहमति भएको छ।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो। सहमतिसँगै राहत शिक्षकहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने भएका छन्।
वार्तामा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायत थिए।
शिक्षामन्त्री राईका अनुसार शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको हो।
शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आन्दोलन भएको थियो। महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो।
उक्त सहमतिले राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए।
प्रतिक्रिया