रामेछापस्थित दुई शताब्दी पुरानो सत्तल जीर्ण, गाईखुरको पनि संरक्षण भएन
रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ।
मन्थली बजारको पारिपट्टी मन्थली नगरपालिका-८, चिसापानीको गाईखुरामा रहेको प्राचीन सत्तल, सत्तलसँगै रहेका प्राचीन शिलालेख र तामाकोशी नदी किनारमा रहेको गाईखुर संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन्।
गाईखुरको सत्तलमा रहेको शिलालेखमा शाके सम्वत् १७५० र श्रीसम्वत् १८८५ लेखिएको छ। सो शिलालेखका आधारमा पनि उक्त सत्तल झण्डै २ सय वर्षअघि बनेको प्रमाणित हुन्छ।
कान्तमणि वैद्यले आफूले पाएको बिर्तामा नर्मदेश्वर शिवलिंग स्थापना गरेको विवरण उक्त शिलालेखमा उल्लेख छ। शिवलिंग स्थापनासँगै सो ठाउँमा सत्तल पनि बनाएको देखिन्छ।
झण्डै २ सय वर्ष पुरानो सत्तल निकै कलात्मक छ। सो स्थानमा केही ढुंगे मूर्तिहरू पनि छन्। तिनको उचित संरक्षण हुन सकेको छैन। ती यत्रतत्र छरिएका अवस्थामा छन्।
झिँगटीको छानो लगाएको सत्तल पानी चुहिएर ढल्न लागेपछि प्लास्टिक छापेर राखिएको छ। त्यही पनि च्यातिएर जान लागेको छ। सत्तलको न सरसफाइ छ, न संरक्षण नै। सत्तल छेउमा ठूलो मन्दिर बनाइए पनि सत्तल भने बेवारिसेजस्तै भएको छ।
वैद्यको बिर्ता भए पनि अहिले गाईखुरामा वैद्यका सन्तान कोही छैनन्। गाईखुराको माथि चिसापानीमा नेवार गाउँ भए पनि गाईखुरामा माझी बस्ती छ ।
गाईखुरा र जखनीटारको बीचको तामाकोशी नदी तटमा रहेको विकट पहरोमा गाईको खुरको गहिरो छाप भएको आकृति पनि छ। सम्भवतः नदीले काटेर ढुंगाको त्यो आकृति बनेको हुन सक्छ।
तर, त्यसको किम्बदन्ती भने अर्कै छ। किम्बदन्तीअनुसार महादेव नन्दीमा सवारी भएर त्रिवेणी हुँदै तामाकोशी किनारै किनार गौरीशंकर हिमालतर्फ जाँदै गर्दा उनको वाहन नन्दीले टेक्दा सो पाइला बनेको बताइन्छ। शिवजीलाई बोकेको नन्दीले एउटा पाइलो यहाँ र अर्को पाइलो चनखुको महादेवटारमा टेकेको किम्बदन्ती छ। गाईखुरा नामकरण भएको पहरो रहेको ठाउँलाई देउतीडाँडा पनि भनिन्छ।
माछा मार्न जाल हान्दै जाँदा माझी समुदायले सो गाईको पदचिह्न फेला पारेको भनाइ छ। गाईको पदचिह्न फेला परेपछि सो पहरामा पूजा हुन थाल्यो र त्यसको नाम नै देउतीडाँडा रहन गयो।
वर्षाको बेलमा तामाकोशी बाढी आउँदा सो ढुंगोलाई समेत छोप्छ। तल जाने बाटो पनि अप्ठेरो भएका कारण भक्तजनले माथि डाँडामा नै पूजा गर्न लागेर डाँडाको नाम देउतीडाँडो रहन गएको स्थानीय बालकृष्ण माझी बताउँछन्।
प्राचीन सभ्यता र सम्पदा रहेको गाईखुरा क्षेत्रको संरक्षण र पुरातात्विक अनुसन्धानमा सरकारले ध्यान दिएको छैन। भएका संरचनाको संरक्षमा समेत सरकारको ध्यान नपुग्दा जोगाउन कठिन भएको माझी बताउँछन्।
ऐतिहासिक सो सत्तल मर्मतका लागि बारम्बार भन्दा यस वर्ष पुरातत्त्व विभागले ५० लाख रूपैँया छुट्याएको उनले बताए। ‘यस वर्ष ५० लाख रूपैँया छुट्याएको छ, अब भने टेण्डर प्रक्रियामा गएर काम सुरू होला भन्ने आशा जागेको छ,’ उनले भने।
प्रतिक्रिया