अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह
साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका अभयिन्ता ईःको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा सो सम्बन्धमा आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेको उल्लेख गर्दै धर्नामा रहेकाको स्वास्थ्य अवस्थाप्रति संवेशिल बन्न भनेको हो । अनुगमनका क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ईः र उनका साथीहरू एवं धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ ।
रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईःको दुवै खुट्टा अस्वाभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ। त्यस्तै महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासोे प्रदर्शनकारीले गरेका छन् । आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको छ ।
अभियन्ता ईःले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेसा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ । संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ ।
धर्नामा रहेका व्यक्ति ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोगले नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया