वन फँडानी आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

रूकुमपश्चिममा वनको रूख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्षसमेत छन् ।

अवैध रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो । उनीहरूविरूद्ध चौरजहारी-११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ ।

आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर