सरकारसँग भएको ९ बुँदे सहमति अझै कार्यान्वयन भएन : अध्यक्ष सिंह

निमार्ण उद्योग व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारसँग भएको ९ बुँदे सहमति अझै कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।

आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा (एमाले) विषयक अन्तर्क्रिया कार्यक्रममा उनले प्रधानमन्त्री अमेरिका र चीन भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गरिएको सहमति अझै पूरा नभएको भन्दै दशैं अगाडि आइरहेको समयमा सप्लाई चेन र मजदुरहरूलाई भुक्तानी गर्न नसकेको बताए ।

उनले भने, ‘सरकारले अझसम्म पनि निमार्ण उद्योगलाई भुक्तानी नगरेको हुनाले हाम्रो सप्लाई चेनहरू अस्तव्यस्त भएको छ । सप्लाई चेनलाई, मजदुरलाई भुक्तानी गर्न सकेको छैन । हामी आन्दोलित भयौं, सरकारसँग सहमति पनि गर्‍याैं र हाम्रो ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्न हामी डेढ महिनादेखि कुरिरहेका छौं । प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो तर त्यो पूरा भएको छैन । दशैं अगाडि आइरहेको छ, हामीले हाम्रो भुक्तानी गर्न सक्ने अवस्था छैन ।’

उनले अराजक अवस्थामा मुलुक पुगेको, कर्तव्यबोध कसैले पनि नगरेको भन्दै यसले निमार्ण उद्योग एकदमै धराशायी भएको बताए ।

यस्तै उनले अनावश्यक दबाब दिएर बिनाबजेटका योजनाहरू कार्यान्वयन गर्न नसक्ने भन्दै म्याद थप मात्रै गरेर समस्याको समाधान नहुने बताए ।

उनले भने, ‘हामीलाई म्याद थप मात्रै गरेर समस्याको समाधान हुँदैन । अहिले पच्चीस सय/तीन हजार योजनाको म्याद थप हुँदै गर्दा ४ खर्बको भुक्तानी सिर्जना हुन्छ । त्यो भुक्तानी राज्यले कसरी व्यवस्था गर्छ, यो कुरा पनि याद राख्नुपर्छ । अनावश्यक दबाब दिएर बिनाबजेटको योजनाहरू जुन दिनुभएको छ, म सबै राजनीतिक पार्टीहरूलाई भन्न चाहन्छु ती बिनाबजेटका योजनाहरू हामीले कसरी कार्यान्वयन गर्न सक्छौ ?’

निमार्ण उद्योगलाई मध्यममा राखेको कारणले, निमार्ण उद्योग चलायमान नभएको कारणले अहिले उद्योगहरू पनि क्षमताको ३० प्रतिशत मात्रै सञ्चालन हुन सकेको उनको भनाइ छ ।

यस्तै उनले सरकारले व्यवसायमा गरेका कमीकमजोरीहरूलाई सुधार गर्ने र त्यसलाई खबरदारी गर्ने काममा प्रतिपक्षले प्रमुख भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *