चिकित्सक कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

मंगलबार माइतीघरमण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही र आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन्।

आन्दोलनमा सहभागी डाक्टर आनन्द सिंहले कानूनअनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरूको माग रहेको बताए। ‘कानूनी ऐन हामीसँग छ, त्योअनुसार कारबाही अगाडि बढेको छैन। स्वास्थ्य सुरक्षा ऐन छ, त्यो ऐनअनुसार कारबाही अगाडि बढ्नुपर्‍याे,’ उनले भने।

त्यस्तै डाक्टर कपिल गौतमले पनि देशका विभिन्न ठाउँमा सहकर्मीहरूमाथि आक्रमण भए पनि सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको भन्दै आक्रोश पोखे।

उनले भने ‘देशको दूरदराजमा काम गर्ने साथीहरू दुर्व्यवहार र सांघातिक हमलामा पर्नुभएको छ। जस्तै हेटौंडाको काण्ड, चितवनको काण्ड, पोखराको काण्ड। यसरी नियोजित रूपमा हमला गरिए तापनि नेपाल सरकार गृह प्रशासनले, स्थानीय सरकारले यसलाई खासै गम्भीर रूपमा नलिएर कानूनी प्रक्रिया अगाडि नबढाएकोले हामी खेद प्रकट गर्दछौं। हाम्रो सुरक्षाको प्रत्याभूति गर्नुपर्‍याे राज्यले।’

‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट’, ‘अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ’, ‘डाक्टर कुट्न पाइँदैन’, ‘पेसा छोडौं कि देश छोडौं?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

लमजुङकी एक महिलाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेको थियो। सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टरहरू विरोधमा उत्रिएका हुन्।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर