लागुऔषधविरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका सराहनीय : प्रहरी महानिरीक्षक कुँवर

आसरा सुधार केन्द्र रानीबारीको २७ औं वार्षिकोत्सव सम्पन्न भएको छ। केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमका साथ वार्षिकोत्सव सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर प्रमुख अतिथि थिए। महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्त्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउने केन्द्रका पूर्वअध्यक्षद्वय ज्ञानु ज्ञवाली र कुशुमलता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरे।

प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुका साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण-२०८०’ को विमोचनसमेत गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यहरूलाई केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताए।

लागुऔषधविरूद्धको लडाइँमा आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदान, कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिवद्धताको साथै सामाजिक रूपान्तरणका लागि खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे।

लागुऔषधको कारोबार तथा लागुऔषधमा संलग्न व्यक्तिहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उनले जानकारी गराए।

समारोहमा केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरिन्।

उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कुँवरले जान-अञ्जान, परिवेश र परिवन्दले लागुऔषधको दलदलमा फसेका लागुऔषध प्रयोगकर्ताहरूलाई कानुनी दण्डबाट दण्डित गरिनु भन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्धतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलनमा फर्काइनु पर्दछ भन्ने लक्ष्य राखी स्थापना भएको आसरा सुधार केन्द्रले सोहीअनुरूप काम गर्दै आएको उल्लेख गरिन्।

केन्द्रकी सचिव सीता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकले बाँसुरीको धुन प्रस्तुत गरेका थिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *