प्रधानमन्त्री प्रचण्ड : अमेरिकामा एमसीसी, चीनमा बीआरआई!

परिवर्तित भूराजनीतिसँगै यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण परम्परागतभन्दा फेरिएको छ। शपथ लिएको केही हप्तामै प्रधानमन्त्रीहरूको भ्रमण दक्षिणाटन हुने र त्यसलगत्तै उत्तर जाने चलनको क्रमभंग भएको छ। प्रधानमन्त्री दाहालले विश्वकै दुई शक्तिशाली राष्ट्रपतिसँग एकैपटक भेट्ने कूटनैतिक साइत मिलाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको डिनरपछि सिधै र चिनियाँ राष्ट्रपति सी चिनफिङको रात्रिभोजमा शनिबार सहभागी भए।

कोरोना संक्रमणपछि वैश्विक भूराजनीति समीकरणले कोल्टे फेरिरहेको छ। युक्रेनमाथि रसियाको युद्धाक्रमण र उत्तरी छिमेकी मुलुक चीनले जारी गरेको पछिल्लो विवादित सीमा नक्साले अहिले एसियाली राजनीतिक मुलुकबीच उथलपुथल ल्याएको छ।

चीनले जारी गरेको नक्सालाई आफ्नो ‘प्रचलित नक्सा’ भन्दै भारतको अरूणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन र अक्साई चीनको विवादित ३० हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रलाई आफ्नो हिस्सा बनाएपछि थप विवाद सिर्जना भएको छ। उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेतलाई चीनको हिस्साका रूपमा देखाइएको छ।

यससँगै दक्षिण चीन सागरमा बढ्दो अमेरिका-चीन तनाव र क्षेत्रीय विवादबारे हालै जकार्तामा शिखर बैठक सम्पन्न भयो। जसमा अधिकांश राष्ट्रप्रमुखले चिनियाँ गलत रवैयाको खुलेरै विरोध गरेका छन्।

साथै भारतमा सम्पन्न जी-२० शिखर सम्मेलन बैठकले हरित प्रगति, लैंगिक समानता र आतंकवाद नियन्त्रणलगायत विभिन्न बुँदालाई समेट्दै घोषणापत्र जारी गरेको छ। जसले भारतको नेतृत्व र आर्थिक प्रगतिलाई स्थायित्व प्रदान गरेको छ। ‘वसुधैव कुटुम्बकम’ को नाराका साथ समापन भएको सम्मेलनले एसियाको राजनैतिक समीकरणमा बीआरआईको प्रतिउत्तरमा नयाँ दिशा प्रदान गरेको छ।

अर्कोतर्फ विगत दुई दशकदेखि आसियान र चीनले दक्षिण चीन सागरमा कानूनी रूपमा बाध्यकारी आचारसंहिता बनाउने विषयमा वार्ता गरिरहेका छन्, जुन अहिलेसम्म कार्यान्वयन भएको छैन। जुलाईमा दुवै पक्षले तीन वर्षभित्र सम्झौता गर्ने सहमति गरे पनि क्षेत्रीय विवादमा समाधानको संकेत कम देखिएको छैन।

परिवेशक्रममै साताव्यापी भ्रमणका लागि प्रधानमन्त्री शनिबार हाङजाओ पुगेका छन्। प्रचण्ड र राष्ट्रपति सीसँग द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुवै नेताबीच क्षेत्रीय स्थिरता, एकअर्काको चासो र संवेदनशिलता बुझेर सहकार्यलाई अझ सघन बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

चीनले बिआरआईको माध्यमद्वारा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न तयार रहेको सन्देश दिएको छ। प्रधानमन्त्री दाहालले चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने अपेक्षा गरेका छन्।

त्यसो भए उता अमेरिकको भ्रमणमा एमसीसीले र चीन भ्रमणमा बीआरआईले नेपालको आर्थिक विकासमा बाढी ल्याउने नै हो त? एमसीसी र बीआरआईबारे मतभेद हुँदै आएको छ। काठमाडौंको बौद्धिक जमातले प्रतिस्पर्धा विरोधीका रूपमा रहेका विकासका दुवै मोडल नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको बताउँदै आएको छ। बीआरआईलाई चिनियाँ सैन्य स्वार्थका लागि चलाइएको अभियान र त्यसको प्रतिउत्तरमा अमेरिकाले चालेको प्रत्तिउत्पादक महाअभियान भएको भन्दै ठूलो बहस चलिरहेको छ। एमसीसीलाई विकासको बहानामा अमेरिकी सेनाको नेपाल प्रवेश हो भन्दै खुलेरै विरोध गर्ने जमात अझै छ।

सन् २०१७ मा नेपाल बीआरआईको हस्ताक्षरकर्ता बनेको थियो र अहिले चीन नेपालको सबैभन्दा ठूलो ऋणदाता बनिसकेको छ। चीन, नयाँ दिल्लीपछि काठमाडौंको दोस्रो ठूलो व्यापारिक साझेदार हो र प्रत्यक्ष विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत पनि हो।

केही वर्षयता बेइजिङले नेपालसँगको सक्रिय सम्बन्धलाई बढावा दिँदै आएको विभिन्न गतिविधिबाट देखिन्छ। मुख्यतया बीआरआईलाई केन्द्रित गर्दै चीनको कूटनीतिक प्रभाव नेपालमा अप्रत्याशित रूपमा बढेको देखिन्छ।

काठमाडौंले नयाँ दिल्लीबाट आर्थिक नाकाबन्दीको सामना गरिरहेको बेला बेइजिङले सन २०१६ को क्रस-बोर्डर ट्रान्जिट सन्धिमार्फत मित्रता देखाउँदै ‘चाइना कार्ड’ खेल्न सफल भएको थियो। भूपरिवेष्ठित राष्ट्रका रूपमा रहेको नेपाललाई तेस्रो मुलुकसँगको व्यापार अगाडि बढाउन चीनले मौका प्रदान गरेको हो। तर त्यो कति सार्थक रह्यो? बसहको विषय हो।

नेपाली नेताहरूले हेक्का राख्ने कुरा श्रीलंकाको आर्थिक संकट मात्र होइन, पकिस्तानको आर्थिक संकट पनि पनि उस्तै छ। बीआरआईको कारण पाकिस्तानको आर्थिक अवस्था पनि ओरालो मात्र लागेको छैन, पिठो पाउन जनता रातभर जागराम बस्नु परिरहेको छ। नेपालमा पनि बीआरआई लागू गर्न चीनले दबाब दिँदै आएको छ। जसको मुख्य उद्देश्य नेपालको अर्थतन्त्रलाई ऋणको पासोमा पार्नु हो।

प्रधानमन्त्री दाहालमाथि चीनको दबाब
प्रधानमन्त्री दाहालले पद ग्रहण गरेको एक दिन नबित्दै चिनियाँ टोली नेपाल आयो। केपी शर्मा ओली र दाहालको मिलनलगत्तै काठमाडौँ आएको ६ सदस्यीय प्राविधिक टोलीले वित्तीय खर्च बहन गर्ने सहमतिसहित रेल्वेमार्ग निर्माणको सम्भाव्यता अध्ययन सुरू गरेको थियो। तर, दुवै देशले रेलमार्ग निर्माणको वित्तीय सहयोग कसरी गर्ने भन्नेबारे निर्णय गर्न बाँकी छ।

परराष्ट्रमन्त्री एनपी साउदले बीआरआईअन्तर्गत परियोजना कार्यान्वयन अझै विचारमा रहेको र अहिलेसम्म एउटा पनि परियोजना कार्यान्वयन नभएको बताउँदै आएका छन्। पोखरा विमानस्थल सन् २०१६ मा चीनको एक्जिम बैंकले प्रदान गरेको २१५ मिलियन अमेरिकी डलरको ऋणमा आधारित परियोजना हो। तर दाहाल प्रधानमन्त्री भएकै बेलादेखि चीनले पोखरा बीआरआईअन्तर्गत भएको दाबी गर्दै आएको छ।

सतर्क नेपाल, कठोर चीन
बीआरआई परियोजनाहरूको चिनियाँ प्रस्तावबारे नेपालले निःशुल्क र निष्पक्ष प्रतिस्पर्धात्मक बोलपत्रका लागि खुला हुन अनुरोध गर्दै आएको छ। यसमार्फत बीआरआईको बहानामा यस क्षेत्रमा बेइजिङको खराब अभिप्राय र दुस्साहस प्रवेशलाई निस्तेज गर्न सकिने जानकारहरू बताउँछन्। परियोजना कार्यान्वयनमा प्रमुख चिनियाँ बाधालाई चिर्दै नेपालले यसको वित्तीय पोषण मोडलिटीको सम्बन्धमा स्पष्टता खोजेको हो। तर, यसप्रति चीन उदासीन देखिन्छ।

भारतविरूद्ध नेपाललाई प्रभाव पार्ने चीनको प्रयास
नेपालमा नयाँ सरकार गठन भएपछि चीनले काठमाडौंको राजनीतिसँग आफ्नो संलग्नता बढाएको छ। सरकार-सरकार र पार्टी-पार्टीस्तरको सम्बन्ध स्थापित गर्ने उद्देश्यले धेरै उच्चस्तरीय भ्रमणहरू गरिएका छन्। प्रधानमन्त्री बनेपछि भारत भ्रमणको परम्परा तोड्ने प्रयासमा बेइजिङ छ। मुख्यतः दिल्लीसँगको काठमाडौँको सामिप्यतालाई उच्छिन्दै पहिलो भ्रमण बेइजिङ हुनुपर्ने आकांक्षा चिनको छ। सेप्टेम्बरमा प्रधानमन्त्री दाहालको बेइजिङ भ्रमणका लागि चीनले विभिन्न एजेन्डा सेट गरेको थियो। तर नेपाली उदासीनताको कारण विफल भयो।

परराष्ट्रमन्त्री साउदले नेपालको विदेश नीतिलाई स्पष्ट पार्दै छिमेकीहरूसँग सौहार्दपूर्ण सम्बन्ध सुदृढ बनाउने धारणा व्यक्त गर्दै आएका छन्। साउदका अनुसार विगतमा तनावमा परेका मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने लक्ष्य राखिएको छ। त्यसैले प्रधानमन्त्री दाहालको नेतृत्वमा बेइजिङले आफ्नो एजेन्डालाई सफलतापूर्वक उपयोग गर्छ कि गर्दैन? प्रधानमन्त्रीको चीन भ्रमणपछि काठमाडौंले आफ्ना दुई महत्त्वपूर्ण र मैत्रीपूर्ण छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न सक्छ कि सक्दैन? यो भने हेर्न बाँकी छ।

बीआरआई परियोजनासँग जुधिरहेको नेपाली मनोविज्ञान
चिनियाँ राष्ट्रपति सीले ५ वर्षअघि भूमि आधारित ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र समुद्रमा आधारित ‘२१ औं शताब्दी समुद्री सिल्क रोड’ योजनाबारे घोषणा गरेका थिए। बीआरआई परियोजना नेपालमा प्रस्तावित ठूला पूर्वाधार परियोजनामा फोकस हुनुपर्ने र लगानीको मोडालिटीबारे गम्भीर रूपमा सरकारीस्तरबाट छलफल हुनुपर्ने हो, जुन हुन सकेको छैन। यति मात्र होइन, चीनबाट आउने सरकारी डेलिगेट्स र दूतावासको सधैँको वार्तामा बीआरआई परियोजना पहिलो प्राथमिकतामा रहने गरको छ। नेपालमा बीआरआई परियोजनामा रेललाइन र रोडको कनेक्टिभिटीसँग मात्र सम्बन्धित नभई यसमा पाँच विषय समेटिएका छन्। नीतिगत समन्वय, रेल्वे र हाइवेसहितको संरचना, खुल्ला व्यापार, आर्थिक समन्वय र जनजनको सामीप्यताजस्ता विषयलाई मुख्य आधार बनाएर चीनले यो परियोजनालाई अगाडि बढाउने प्रयास गर्दै आएको छ।

काठमाडौंले सुरूमा बीआरआईअन्तर्गत ३५ परियोजनामा सहमति जनाएको थियो। तर सन् २०१९ मा काठमाडौंको अनुरोधमा परियोजनाहरूको संख्या ९ मा झरेको छ। ९ परियोजनाहरूको सूचीकरण गर्दा पनि बिआरआईअन्तर्गत अनुदान वा सफ्ट ऋणलाई प्राथमिकता दिए मात्र लिने कुरा चलिहरेका छन्।

तर, ६ वर्षयता बीआरआईअन्तर्गतका कुनै पनि परियोजना कार्यान्वयनमा आउन सकेका छैनन्। यी परियोजनामध्ये चीनको सबैभन्दा चासोमा ‘रेल्वे कनेक्टिभिटीका लागि सहयोग’ सम्बन्धी समझदारीपत्र नै हो। जुन दक्षिणी तिब्बतको केरुङसँग राजधानी काठमाडौंलाई जोड्ने १७० किलोमिटरको सीमा वारपार रेल लाइन हो। अर्को ठूलो परियोजना ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी आर्थिक करिडोर हो। चीनले सन् २०२२ मा ११८ मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यसका साथै पूर्वप्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपाली राजनैतिक सहयोग, सहभागिता बढाउन, शासन, विधायिका र पर्यवेक्षण अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्न ६ बुँदे चीनसँगको सम्झौतामा नेपालले हस्ताक्षर गरेको थियो।

कमिसनको मायाजालमा फसेको ऋणको गलपासो
अन्य दातृ निकायले ठूलो लगानी गर्न डराइरहेको पूर्वाधारमा चिनियाँ कम्पनी भने लगानी गर्न हानाथाप गर्छन्। यो चीनले लगानीमार्फत पुष्टि गरेको विश्वव्यापी अनुभव हो। ऋण दिइसकेपछि त्यही पूर्वाधारले ती मुलुकलाई ऋणको पासोमा पार्दै आएको छ। चिनियाँ रणनीतिको बीआरआईका विषयमा नेपालको हकमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू भएको छ।

सुरूमा वार्षिक २ प्रतिशत ब्याजमा भनेर गरिएको लगानीलाई अहिले चिनले बेल्ट एन्ड रोड इनिसियटिभ प्रोजेक्टका रूपमा भएको दाबी गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक अवस्था ‘आम्दानी अठन्नी, खर्च रूपैयाँ’ जस्तै भएको छ। अहिलेको एयर ट्राफिक र अन्तर्राष्ट्रिय वायुसेवाको आकर्षण हेर्दा यो लगानी एक सय वर्षमा कुनै हालतमा उठ्ने देखिँदैन। यस्तै कारणले चिनियाँ लगानीमा परेको छिमेकी मुलुक श्रीलंकाको आर्थिक अवस्था संकटमा पुगेको हो।

स्रोत : अनिल तिवारी/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *