जी-२० सम्मेलनले स्थापित गर्याे एशियाको पुनर्उदय
भारत शक्ति राष्ट्र हो वा होइन, यस विषयमा अझै छलफल जारी नै छ । तर, भारत पाँचौं ठूलो अर्थतन्त्र, अन्तरिक्ष विज्ञानमा अब्बल, सैनिक शक्ति सम्पन्न र खुसी नागरिकसहित अघि लम्कँदै गरेको राष्ट्र भएकोमा अब कुनै दुईमत रहेन ।
केही दिनअघि भारतले जी-२० शिखर सम्मेलन राजधानी दिल्लीमा सम्पन्न गर्याे । सुरक्षादेखि बन्दोबस्तीसम्म अब्बल रहेको यो शिखर सम्मेलनको घोषणापत्रले धेरैको पूर्वानुमान गलत सावित भयो । भारतले जी-२० शिखर सम्मेलनमा सर्वसम्मत र सर्वस्वीकृत घोषणापत्र जारी गरेको छ । यस्तै उसले अफ्रिकन युनियनलाई यसको नयाँ सदस्य बनाएर धेरैलाई चकित बनायो ।
युक्रेन र रूस युद्धका सम्बन्धमा मध्यमार्गी बाटोबाट समाधान खोजियो भने शब्दहरूको चयन यसरी गरियो कि जसलाई चीन, रूस र युक्रेनदेखि अमेरिका तथा युरोपियन युनियनमा रहेका देशहरूले समेत समर्थन जनाए ।
भारतको मुम्बई केन्द्र भएर मध्यपूर्वी एशिया हुँदै युरोप र अमेरिकासम्मका लागि आर्थिक बाटो (इण्डिया-मिडिलइस्ट-युरोप इकोनोमिक करिडोर) बनाउने भारतीय एजेण्डामा सबैले सहमति जनाए । जल तथा स्थलमार्गमा बन्ने यो करिडोरलाई चीनको बेल्ट एण्ड रोड इनिसियटिभको काउन्टर मानिएको छ । यद्यपि दुबै परियोजना फरक हुन् । र, दुबैको महत्त्व फरक छ ।
यस्तै जलवायु परिवर्तन अनुकूलन, खाद्य सुरक्षा, क्षेत्रीय सैनिक सहकार्य तथा शक्ति सन्तुलन, गरिबी निवारण, सैन्य औद्योगिक उत्पादन सहकार्य तथा सांस्कृतिक सहकार्यलगायतका विषय समेटिएको घोषणापत्र जारी भएको छ । जसलाई विज्ञहरूले शक्ति स्थानान्तरण र शक्ति रूपान्तरणको नयाँ दस्तावेज बताउन थालेका छन् ।
इतिहासमा पूर्वी देशहरू सबैभन्दा शक्तिशाली र सम्पन्न थिए । उनीहरूको दर्शन र दस्तावेज शक्तिशाली थिए । प्राकृतिक स्रोत साधनमा सम्पन्न र अध्ययनशील यो समुदाय पछि किन धकेलियो, सोचनीय विषय छ । कालान्तरमा आपसी बेमेल, आपसी युद्ध, रोग, प्राकृतिक विपत्ति र आन्तरिक कलह तथा द्वन्द्वका कारण पिछडिँदै गयो । तर, पश्चिमका देशहरू निरन्तर अघि बढिरहे । उनीहरूले सामूहिक विकासको भावनाका साथ गठबन्धन बनाउँदै लगे ।
तर, यो क्रम यतिबेला भंग भएको विज्ञहरूको अनुमान छ । उनीहरू अब फेरि पूर्वी संस्कृति, दर्शन, विकास र शक्तिको पुनर्उदय भएको विश्वास व्यक्त गर्दछन् । उनीहरूले यसको मापक भारतमा सम्पन्न जी-२० सम्मेलन र यसको घोषणापत्रसहित भारत र चीनलगायत देशलाई लिएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले शुक्रबार आयोजना गरेको ‘जी-२० : दक्षिण एशियाका लागि आशा र सम्भावना’ विषयक छलफलमा अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता तथा खोजकर्ताहरूले भारत र चीनमा भएको विकासबाट दक्षिण एशियामा रहेका अतिविकसित र विकासोन्मुख राष्ट्रले कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा मन्थन गरे ।
यस्तै उनीहरूले जी-२० सम्मेलनमार्फत भारतले पूर्वीय संस्कृति र दर्शनलाई विश्वव्यापीकरण गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरे ।
त्रिभुवन विश्व विद्यालयमा रहेको सिनासका कार्यकारी निर्देशक प्राडा मृगेन्द्रबहादुर कार्कीले स्वामी विवेकानन्दले सन् १८५३ मा सिकागोमा गरेको भाषणको सम्झना गर्दै त्यसपछि हाल आएर जी-२० शिखर सम्मेलनमा भारतले राखेको स्लोगनले त्यही पुनरावृत्ति गरेको बताए । उनले एशियाको पुनर्उदय भएको बताउँदै भने, ‘पश्चिमले निर्माण गरेको प्रतिमान परिवर्तन (पाराडियम सिफ्ट) भएको संकेत हो, यो सबैबाट स्वीकारसमेत भएको छ ।’
यस्तै कूटनीतिज्ञ तथा विश्लेषक डा दिनेश भट्टराईले भारतले जी-२० मार्फत दिएको प्रमुख सन्देश भनेको हाम्रो पूर्वीय दर्शनको मान्यता भएको बताए । उनले वसुधैव कुटुम्बकम भन्ने मूल नारा राखेर भारतले एक पृथ्वी, एक परिवार र सबैको समान भविष्यलाई स्थापित गर्न खोजेको बताए ।
‘भारत उच्च तहको शक्ति भइसकेको छ, उसले विश्वासका साथ आफ्ना एजेण्डालाई कूटनीतिमार्फत विश्वमा स्थापित गरिरहेको छ । यसबाट दक्षिण एशियामा रहेका देशहरूले फाइदा लिनुपर्छ,’ डा भट्टराईले भने ।
यस्तै कार्यक्रममा अर्का वक्ता कूटनीतिक विज्ञ डा राम थपलियाले जी-२० मा उठाइएका आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, नैतिक, वातावरणीय तथा सैन्य एजेण्डाले एशिया नयाँ शक्तिका रूपमा उदय भएको बताए । उनले अब यो शक्तिको सही उपयोग गर्ने र दुरूपयोग हुनबाट रोक्ने जिम्मेवारीका लागि एशियाका देशहरूले अनुगमन गर्न आवश्यक रहेको बताए ।
‘एशिया नयाँ शक्तिका रूपमा यसको पुनर्उदय भएकोमा शंका रहेन,’ उनले भने, ‘तर यहाँ सबै समूह र गठबन्धन देशहरूबीच विश्वासको संकट छ । यसलाई हटाएर अघि बढनुपर्छ ।’
प्रतिक्रिया