भारतमा महिला आरक्षण विधेयक सर्वसम्मतले पारित

संसद्मा महिलाको हिस्सा १५ प्रतिशत

भारतमा ऐतिहासिक महिला आरक्षण विधेयक सर्वसम्मतले संसद्बाट पारित भएको छ। विधेयकको समर्थनमा २१४ भोट र विरोधमा शून्य भोट परेको थियो।

संसद्बाट पारित विधेयक राष्ट्रपतिकहाँ पुग्नेछ। राष्ट्रपतिको स्वीकृतिपछि महिला आरक्षणसम्बन्धी विधेयक कानुन बन्नेछ। यद्यपि पहिले जनगणना र सिटको सीमा निर्धारणको काम हुनेछ। माथिल्लो सदनमा विधेयक पारितपछि दुवै सदन अनिश्चितकालका लागि स्थगित गरिएको छ।

जानकारहरुका अनुसार महिला आरक्षण विधेयकलो यात्रा लामो छ। जनगणना र सीमा निर्धारणपछि आरक्षण विधेयक सन् २०२९ को लोकसभा चुनावसम्म लागू हुन सक्छ। १२८औं संविधान संशोधन विधेयक (नारी शक्ति वन्दन विधेयक) लाई अधिकांश राज्य विधानसभाको अनुमति आवश्यक हुन्छ। यसलाई जनगणनाको आधारमा संसदीय र विधानसभा क्षेत्रलाई पुनः तयार पार्न सीमा निर्धारणपछि लागू गरिनेछ। सरकारले यो प्रक्रियालाई आगामी वर्षदेखि सुरु गर्ने बताएको छ।

संसद्मा महिलाको हिस्सा १५ प्रतिशत

उत्पीडित वर्गलाई ३३ प्रतिशत कोटाभित्र आरक्षण दिनेलगायत कैयौं संशोधन खारेज भएपछि विधेयक पारित भएको हो। लोकसभा र राज्य विधानसभामा महिलाका लागि आरक्षण तेर्सो (होरिजेन्टल) र ठाडो (भर्टिकल) दुवै हुनेछ। यो एससी र एसटी वर्गमा लागू हुनेछ।

भारतमा ९५ करोड रजिस्टर्ड मतदातामध्ये करिब आधा महिलाको संख्या छ। तर संसद्मा भने १५ प्रतिशत र राज्य विधानसभामा जम्मा १० प्रतिशत हिस्सा छ। महिलाका लागि ३३ प्रतिशत आरक्षण संसद्को उच्च सदन अर्थात् राज्यसभा र विधान परिषद्मा लागू हुनेछैन।

२०२४ चुनावपछि जनगणना

भारतीय कानुमन्त्री अर्जुनराम मेघवालेका अनुसार उचित प्रक्रिया पालन गरेपछि संविधान १२८औं संशोधन विधेयक २०२३, लागू हुनेछ। यद्यपि जनगणनाको काम भने सजिलो छैन। यसमा विभिन्न सामाजिक र आर्थिक मापदण्डसँग सम्बन्धित डेटा एकत्रित गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले नै कुन कुन सिट महिलाले पाउँछन् भन्ने तय गर्नेछ। ११ घण्टासम्म चलेको बहसमा अर्थमन्त्री निर्मला सीतारमणले कोरोनाका कारण २०२१ मा जनगणना हुन नसकेको र २०२४ को आम निर्वाचनलगत्तै जनगणना सुरु हुने बताउनुभएको छ ।

संशोधनमा के छ?

पारित विधेयकमा लोकसभा, राज्यसभा र राष्ट्रिय राजधानी क्षेत्र दिल्ली विधानसभामा एक तिहाइ सिट महिलाका लागि आरक्षित हुनेछ। यसको मतलब लोकसभाको ५ सय ४३ सीटहरू मध्ये १ सय ८१ सीटहरू महिलाका लागि आरक्षित हुनेछन्।

लोकसभा र राज्य विधानसभाहरूमा अनुसूचित जाति (एसी) र अनुसूचित जनजाति (एसटी) का लागि सीटहरू आरक्षित छन्। यी आरक्षित सिटमध्ये एक तिहाइ अब महिलाका लागि आरक्षित हुनेछन्।

हाल लोकसभामा १२१ सीटहरू एससी–एसटी को लागि आरक्षित छन्। महिला आरक्षण विधेयक ऐन बनेपछि यीमध्ये ४३ सिट महिलाका लागि आरक्षित हुनेछन्। यी ४३ सिटलाई सदनमा महिलाका लागि आरक्षित कुल सिटको एक हिस्साको रूपमा गणना गरिनेछ। अर्थात् महिलाका लागि आरक्षित १ सय ८१ सिटमध्ये १ सय ३८ सिटमा जुनसुकै जातका महिलालाई उम्मेदवार बनाउन सकिनेछ अर्थात् ती सिटमा पुरुष हुन नपाउने भएका छन् ।

श्रोतः आइएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *