भारत-क्यानडा तनाव

भारतद्वारा क्यानडालीहरूका लागि भिसा सेवा बन्द

खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच तनाव बढ्दै गएको छ। क्यानडामा रहेको भारतको भिसा आवेदन केन्द्रले बिहीबार क्यानडालीहरूका लागि भिसा सेवा निलम्बन गरेको छ।

भारतले आफ्ना नागरिकहरूलाई क्यानडा यात्रा गर्न वा त्यहाँ बसोबास गर्न उच्चतम सजगता अपनाउन एक जरूरी सूचना जारी गरेको एक दिनपछि यस्तो निर्णय आएको हो।

बुधबार भारतले क्यानडामा बढ्दो भारतविरोधी गतिविधि र राजनीतिक रूपमा स्विकारिएको घृणा फैलाउने अपराध र फौजदारी हिंसाको परिप्रेक्षमा त्यस्तो जरूरी सूचना जारी गरिएको जनाएको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार पत्रकार सम्मेलन गर्दै क्यानडास्थित भारतीय कूटनीतिक इकाइलाई धम्की आएको र सो कारणले काम गर्न नसक्ने अवस्था आएपछि भिसा सेवा बन्द गरिएको बताए।

प्रवक्ताले बाग्चीले भने, ‘हामीलाई लामो समयदेखि थाहा छ कि पाकिस्तान आतंकवादको समर्थक हो र उनीहरूलाई पैसा पनि दिन्छ। यस्तै क्यानडाले आतंकवादीहरूलाई बस्न र तिनीहरूको योजनाहरू पूरा गर्न ठाउँ दिइरहेको छ।’

क्यानडाका आरोपहरू राजनीतिक रूपमा प्रेरित रहेको उनले बताए। आरोपका विषयमा क्यानडासँग प्रमाण मागिए पनि उसले अहिलेसम्म कुनै ठोस प्रमाण नदिएको उनको भनाइ छ।

भारतले लगातार क्यानडालाई उसको देशमा भारतविरोधी गतिविधि भइरहेको बताए पनि उसले यसमा कुनै एक्शन नलिएको बाग्चीले बताए।

सिख मूलका क्यानडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार संलग्न रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आरोप लगाएपछि भारत र क्यानडाबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ।

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेसँगै भारतले पनि एक क्यानडाली कूटनीतिज्ञलाई निकाला गरिसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर