सामुदायिक अस्पताल निर्माणका लागि ५० लाख रूपैयाँ बराबरको जग्गादान

रामेछापको सुनापति गाउँपालिका-२, दिमीपोखरीको गाल्पा बतासेडाँडामा बन्ने सामुदायिक अस्पतालका लागि दुई जनाले जग्गा दान गरेका छन् ।

स्थानीय डा. दिलबहादुर तामाङको अगुवाइमा निर्माण हुन लागेको सो अस्पतालका लागि स्थानीय दुई दाजुभाइ मोहनकुमार घिसिङ र शम्भु घिसिङले आवश्यक जग्गा दिएका हुन् ।

गाउँमा अस्पताल नहुँदा आफ्नी आमाले ज्यान गुमाएकाले अन्यको अकालमा ज्यान नजाओस् भनेर अस्पताल निर्माणका लागि जग्गा दिएको उनीहरूले बताए । उनीहरूले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा जग्गा दिएका छन् ।

जिल्ला मालपोत कार्यालय रामेछापमा पुगेर अस्पतालको नाममा जग्गा पास गरिदिएको मोहनकुमार घिसिङले बताए । उनीहरूले अस्पतालको नाममा दुई रोपनी जग्गा पास गरिदिएका छन् । सो जग्गाको अहिलेको मूल्य करिब ५० लाख रूपैँया रहेको छ ।

अस्पताल निर्माण गर्न लागिएको स्थान जिल्लाको खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको केन्द्रमा पर्ने भएकाले सो स्थानमा अस्पताल निर्माण हुँदा तीनवटै गाउँपालिकाका बासिन्दालाई सेवा लिन सहज हुने छ ।

डाक्टर तामाङले हरेक महिना विशेषज्ञ शिविर सञ्चालन गरेर सो क्षेत्रमा नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएका छन् । समुदायकै लगानीमा सुविधा सम्पन्न अस्पताल बनाएर स्थानीयलाई थप सेवा प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर