‘बीपीले परिकल्पना गरेको समावेशिता अझै व्यवहारमा छैन, पहुँचवालाकै बोलावाला छ’

नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले बीपी कोइरालाले ७० वर्षअघि परिकल्पना गरेको समावेशिता र सामाजिक रूपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताएकी छन्।

नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृतिमा कांग्रेसको केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आयोजना गरेकाे ‘समावेशिता, सामाजिक रूपान्तरण र बीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पार्टीको पूर्वकोषाध्यक्षसमेत रहेकी यादवले आज जो प्रधानमन्त्री भयो, उसैको निर्वाचन क्षेत्रमा बजेट फालाफाल हुने र पहुँचवालाकै बोलावाला चल्ने गरेको बताइन्।

उनको प्रश्न थियो ‘आज जो पहुँचवाला छैन, उसको जिल्ला वा निर्वाचन क्षेत्रमा केही हुँदैन, के यही हो त बीपीको समावेशिता? यही हो राजनीतिक रूपान्तरण?’

नेतृ यादवले नेपाल आज युवा शक्ति निर्यात गर्ने देशको रूपमा चिनिएको भन्दै आफ्ना कमीकमजोरीलाई सुधार्न बीपीको महोत्सवमा सहभागीहरूले दिएको सल्लाहलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘यो देश लोकतान्त्रिक गणतन्त्रको देश हो भनेर चिनाउन समावेशिता र रूपान्तरणको अभियानलाई मूर्त रूप दिनुपर्छ।’

साहितयकार तथा वाम बुद्धिजीवी आहुतिले नेपाली समाज जात व्यवस्थामा आधारित भएको र नेपाली कांग्रेसले आफ्नो समाजवादी कार्याक्रम २००८ सालमा ल्याए पनि त्यसलाई अझै पनि पूर्ण रूपमा कार्यान्वयन नगरेको बताए।

संविधानसभा सदस्यसमेत रहेका आहुतिले वर्ण व्यवस्था मान्ने कि नमान्ने भन्ने कुरा व्यक्तिलाई छोड्न पर्छ भनेर कांग्रेसको समाजवादी सिद्धान्तमा उल्लेख भएको बताए। उनले भने, ‘२००९ सालमा धनमानसिंह परियारलाई कांग्रेसले महासचिव बनाए पनि २०१५ आम निर्वाचनमा उनी उम्मेदवार समेत बनेनन्।’

उनले २०१६ सालको महासभामा कंग्रेसले १३ जनालाई पठाएको भन्दै त्यसमा पनि धेरै जसो उच्च हिन्दू समुदायका नै रहेको भन्दै बीपीले विर्ता उन्मूलन २०१६ सालमा गरे तर त्यसपछि भूमिहिन किसानले केही पनि नपाएको बताए।

‘कांग्रेसले उत्पीडितको व्याख्या गर्न सकेन। बीपीले राष्ट्र भनेको जनता भनेर पञ्चायतविरूद्ध आन्दोलन गरे। तर हालको संविधान लेख्दा नेपाली समाज अनुरुप केही लेखियो ती सबै राज्यका निर्देशक सिद्धान्तमा समेटिएको छ। राज्यका निर्देशक सिद्धान्तमा भएका जनताका अधिकार कार्यान्वयन अनिवार्य छैन,’ आहुतिले भने।

डा. लालबहादुर पुनले संविधानविषयले समावेसिताको र सामाजिक रूपान्तरणको उठान गरे पनि कार्यान्वयन हुन नसकेको बताए।

कार्यक्रम संयोजक बरिष्ठ पत्रकार हरिबहादुर थापाले नेपाली कांग्रेसले आफ्नो संगठनको प्रारम्भमा २००९ सालमा धनमानसिंह परियारलाई पार्टी महामन्त्री, रामनारायण मिश्र, परशुराम चौधरी, प्रेमराज आंगदम्वे, सूर्यनाथ दास यादव, जमानसिंह राइलाई आफ्नो मन्त्रिपरिषद्मा राखेर समावेशितालाई व्यवहारमा देखाएको बताए।

बीपीपछिका राजाहरूले भगवतिप्रसाद सिंहलाई मन्त्री, अनिरूद्रप्रसाद सिंहलाई न्यायाधीश, नागेश्वर प्रसाद, देवानन्द झालाई मन्त्री बनाएको दृष्टान्त प्रस्तुत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *