माग पूरा गर्ने स्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकार समितिले तोड्यो अनशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले माग पूरा गर्ने आश्वासन दिएपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ ।
विगत ३८ दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा आन्दोलन गरिरहेको संघर्ष समितिले स्वास्थ्यमन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतले आफैं गएर माइतीघरमा अनशनरत आन्दोलनकारीलाई अनशन तोडाएका छन् । अनशन तोड्ने क्रममा मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानको लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे ।
उनले यस क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसाथ गर्ने र कमि भएको कुराहरुलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डक्टर र नर्सहरु पाउँन गाह्रो हुने बताए ।
उनले प्रधानमन्त्रीले अमेरिकादेखि चीनसम्म आफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताए ।
चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिका संयोजक निर्मल सापकोटाले स्वास्थ्य मन्त्रालयसंगको छलफलपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिए ।
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको पुर्नसंरचना गर्नुपर्ने, स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ वटा माग राखेर समिति आन्दोलनमा थियो ।
प्रतिक्रिया