भारतलाई आठौं पटक एसिया कप क्रिकेटको उपाधि
एसिया कप क्रिकेट-२०२३ को उपाधि भारतले जितेको छ । तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले एसिया कपको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको हाे । योसँगै भारतले एसिया कप आठौं पटक जितेको छ ।
भारतले पछिल्लो पटक २०१८ मा एसिया कप जितेको थियो । एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो ।
श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पार गर्यो ।
भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे ।
त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो ।
श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए । करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए ।
यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे ।
श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए । जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन् ।
सिराजले चौथो ओभरमा चार विकेट लिएका थिए । उनले सो ओभरको पहिलो बलमा पाथुन निशंकालाई २ रनमा रविन्द्र जडेजाबाट क्याच गराए। तेस्रो बलमा सदीरा समाब्रिक्रमालाई एलबिडब्लूको धरापमा पारे ।
चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए । यस्तै छैटौं बलमा उनले धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए ।
त्यसअघि श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो । उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए ।
श्रीलंकाले चौथों ओभर सकिँदा ५ विकेट गुमाउँदा सुरूवातै संकटमा परेको थियो ।
५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो । एकदिवसीय खेलमा श्रीलंकाको सबैभन्दा कम स्कोर भने २०१२ मा दक्षिण अफ्रिकाविरूद्ध बनाएको ४३ रन हो ।
प्रतिक्रिया