बालमन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर छ : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालमन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

उनान्साठीऔँ राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठन, केन्द्रीय कार्यालय (बालमन्दिर) द्वारा आज आयोजित ‘पुरस्कार तथा प्रमाणपत्र वितरण’ समारोहमा मन्त्री आचार्यले विगतमा बालमन्दिरका जग्गा/जमिन, भौतिक सम्पत्तिमाथि भएका अनियमिततालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

‘विगतमा अनैतिक र अवैधानिक किसिमले लिएका सम्पत्ति बाल सङ्गठनको नाममा आउनुपर्छ । बाल सङ्गठनका नाममा भएका भौतिक सम्पत्तिलाई व्यवस्थित र एकीकृत गर्दै सम्पूर्ण बालबालिकाको हक, हितमा लगाउनका निमित्त मन्त्रालय गम्भीर रहेको छ,’ उनले भने, ‘बालमन्दिरका नाममा करोडौँ सम्पत्ति छ तर संरक्षित बालबालिका अत्यन्तै दयनीय अवस्थामा बसिरहेका छन् ।’

बाल सङ्गठनका विकृति विसङ्गतिलाई हटाएर सही बाटोमा लैजान पहल गर्ने उनको भनाइ छ । बाल सङ्गठनकी अध्यक्ष विद्या न्यौपानेले २०२१ सालदेखि नेपाल बाल सङ्गठनको स्थापना भएसँगै नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको जानकारी दिँदै बाल मन्दिरका इतिहासका पानाको संरक्षण गर्न पहल गर्नुपर्ने बताइन् ।

कार्यक्रममा चित्रकला प्रतियोगितामा ३४ वटा विद्यालयबाट ९९ बालबालिकाले सहभागिता, बालगीत प्रतियोगितामा २४ विद्यालयबाट एक सय १७ बालबालिकाको सहभागिता र नृत्य प्रतियोगितामा २० वटा विद्यालयबाट एक सय ३६ जना बालबालिकाको सहभागिता रहेको सङ्गठनले जनाएको छ ।

सोही कार्यक्रममा ‘बालक पत्रिका’ लोकापर्ण भएको थियो । मन्त्री आचार्य, सङ्गठनका अध्यक्ष न्यौपाने, वरिष्ठ समाजसेवी राधिका शाक्य र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले संयुक्तरूपमा उक्त पत्रिका लोकार्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *