सरकारले संविधान दिवसमा विभूषण प्रदान नगर्ने

अरू के-के छन् मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा प्रदान गर्दै आएको विभूषण यसपटक प्रदान नगर्ने भएकाे छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले संविधान दिवसका अवसरमा हरेक वर्ष वितरण गर्दै आएको पदक, विभूषण र अलंकार वितरण नगर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा वितरण गरिएका विभूषणहरूबारे बारम्बार प्रश्न उठेपछि मन्त्रिपरिषदले यसपटक पदक नबाँड्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू :
-कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने.।

-साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने।

-सिँचाइ नीति, २०८० स्वीकृत गर्ने।

-संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने।

-नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने।

-विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने।

-प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने।

-शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *