जम्मू कश्मीरको अनन्तनागमा आतंकवादीमाथि ड्रोनबाट बम खसाल्दैछ सेना

आतंकवादी हमलामा सेनाका कर्णेल र मेजर तथा प्रहरीका डीएसपीसहित चार सुरक्षा अधिकारीको मृत्यु

भारत प्रशासित जम्मू कश्मीरको अनन्तनाग जिल्लामा सुरक्षा बल र आतंकवादीहरूबीच भीडन्त भइरहेको छ। बुधबारदेखि जारी भीडन्तमा यसबीच भारतीय सेना र प्रहरीका चार अधिकारी मारिएका छन्।

सेनाका कर्णेल, मेजर र अर्का एक अधिकारी तथा प्रहरीका डीएसपी गरी चार सुरक्षा अधिकारी आतंकवादी हमलामा मारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

१९ औं राष्ट्रिय राइफल्सका कमाण्डिङ अफिसर कर्णेल मनप्रीत सिंह र मेजर आशिष ढोंचक तथा जम्मू कश्मीर प्रहरीका डीएसपी हुमायूँ भटको बुधबार आतंकवादीहरूको गोलाबारीमा परी मृत्यु भएको थियो। आक्रमणमा परी गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

यस्तै शुक्रबार बिहान सेनाका अर्का एक अधिकारी पनि मारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। पछिल्लो पटक मारिएका सेनाका अधिकारीको सनाखत हुन बाँकी छ। यस्तै अन्य दुई अधिकारी घाइते भएको पनि सेनाले बताएको छ।

सेनाले बुधबारदेखि आतंकवादीहरूविरूद्ध ‘सर्च अपरेशन’ चलाइरहेको छ। सेनाले यो आक्रमणमा पाकिस्तानको चरमपन्थी संगठन लश्कर-ए-तैयबाको प्रोक्सी द रेजिस्टेन्स फ्रन्ट संलग्न रहेको दाबी गरेको छ।

सेनाका एक अधिकारीले आतंकवादीहरूबाट जसरी सेनामाथि आक्रमण भएको छ यस्तो प्रशिक्षित अतिवादीहरूले मात्रै गर्न सक्ने बताउँदै आक्रमणकारी लश्कर-ए-तैयबाकै चरमपन्थी हुन सक्ने बताएका छन्।

आतंकवादीहरूविरूद्धको अपरेशनलाई सेनाले थप सशक्त बनाउँदै लगेको छ। अहिले सेनाले उनीहरू अनन्तनागको कोकेरनाग क्षेत्रमा रहेको घना जंगलमा लुकेको हुन सक्ने आशंकामा त्यहाँ ड्रोनमार्फत ग्रेनेड बम खसालिरहेको छ।

जम्मू कश्मीर प्रहरीले मुठभेड क्षेत्रमा स्थानीय आतंकवादी उजैर खान र एक विदेशी आतंकवादी रहेकाे बताएकाे छ। सुरक्षा स्राेतले एक आतंककारी मारिएकाे र अर्काको खोजी जारी रहेको बताएकाे छ। तर,  यसकाे आधिकारिक पुष्टि गरिएको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *