मोरङको सुन्दरहरैंचामा चिकित्सकमाथि दुर्व्यवहार

हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एक जना चिकित्सकमाथि दुर्व्यवहार एवं हातपात भएको छ।

मोरङको सुन्दरहरैंचामा चिकित्सकमाथि हातपात भएको हो। सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात भएको मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन यादवले बताए।

डा. पोखरेलमाथि बूढीगंगा गाउँपालिका-७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात गरेका हुन्। शुक्रराजले ज्वरो आएको भन्दै बुवा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार अस्पताल पुर्‍याएका थिए।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी सेवा बन्द थियो।

तारिणीलाई दिउँसो १२:३० बजेतिर आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरू गरिएको थियो। उपचारमा खटिएका डा. पोखरेलले जाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी गराएका थिए।

त्यसपछि उनीमाथि बिरामीका छोरा शुक्रराजले गाली गर्दै हातपात गरेको मेसु यादवले बताए। त्यस क्रममा अरू बिरामीका कुरूवा र अस्पतालका सुरक्षा गार्डले रोकेका थिए।

डा. यादवका अनुसार ज्वरो आएर उपचारका लागि ल्याएको भनिएका तारिणीको अवस्था सामान्य थियो। उपचारमा संलग्न ड्युटीका चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भएको उनको भनाइ छ। डा. पोखरेलले आफूमाथि हातपात भएको बताए।

शुक्रराजलाई इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ। डा. पोखरेलले किटानी जाहेरी दिएपछि शुक्रराजलाई प्रहरीले पक्राउ गरेको हो।

उनीविरूद्ध अभद्र व्यवहार मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ।

यसैबीच हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै विराटनगरको काशी अस्पतालमा शुक्रबार केहीबेर ओपीडी सेवा अवरूद्ध बनाइएको छ। चिकित्सकले करिब २ घण्टा समयसम्म सेवा अवरूद्ध बनाएका हुन्।

बिहानैदेखि टिकट काटेर उपचारका लागि लाइनमा बसेका अधिकांश बिरामी घर फर्किएका थिए। अस्पताल प्रशासनको आग्रहमा चिकित्सकले सेवा सञ्चालन गरे पनि घर नफर्किएका केहीले मात्रै स्वास्थ्य परीक्षण र उपचार गराउन पाएका थिए। -नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *