कान्ति बाल अस्पतालमा व्यवस्थापकीय कमजोरीका कारण बालिकाको मृत्यु भएको निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्ति बाल अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकणरमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन्।

शुक्रबार संसदमा आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउन उपस्थित भएका प्रधानमन्त्री दाहालले बालिकाको उपचारको क्रममा ज्यान जानुमा व्यवस्थापकीय कमजोरी देखिएको बताएका हुन्।

कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भई काठमाडौं बाफल बस्ने ५ वर्षीया बालिका रेजिशा गोपालीको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु हुनु दुखद् भएको उनले बताए।

अस्पताललाई ५ दिनको समय दिएर तीन सदस्यीय छानबिन समिति गठन गरिएको र सो समितिले आफ्नो प्रतिवेदन बुझाएको जानकारी दिएका उनले भने, ‘प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रस्तुत हुनुपर्ने थियो, त्यो गर्न नसकिएको तीतो यथार्थ उल्लेख गर्दै अस्पतालले विगतदेखि महसुस गरेका तर तत्काल सुधारका बाटो कार्यान्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेस गरेको छ।’

उनले दोषिमाथि कारबाहीका लागि सरकार गम्भीर रहेको बताए।

‘सरकारका तर्फबाट यस्ता घटनामा दोषी पाइएकाहरूलाई कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन थप कदम चालिने विश्वाससमेत दिलाउन चाहन्छु,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *