सन्दर्भ कुशे औँसी

तीन भाइ छाेरा छन्, बुवा छन् वृद्धाश्रममा !

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ ।

बागलुङको बागलुङ नगरपालिका-१३, पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर, उनी चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाएका छैनन्। अहिले उनी मानवसेवा आश्रम बागलुङमा आश्रय लिएर बसेका छन् । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेकाे तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिएका पाठक आफ्ना छोराहरू लिन आउँछन् भन्ने आशमा छन् । उनको निन्याउरो अनुहारमा धेरै निराशा र अलिअलि आशाका किरण देखिन्छन् । पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्छन्। पाठक दुई वर्षदेखि मानवसेवा आश्रममा बस्दै आएका छन् । उनी घरिघरि छोराहरूलाई सम्झिन्छन् । तर, छोराहरू भने उनलाई सम्झँदैनन् ।

पाठकका तीन भाइ छोरा छन्। जेठो र माइलो भारतको वनारसमा छन् भने कान्छो छोरा भने कुवेतमा छन् । पाठकका दुई बुहारी र छ नातीनातिना पनि छन्, तर उनलाई कसैले पनि सम्झिन्नन् । तीन वर्ष अगाडि श्रीमती गुमाएका पाठकले कान्छी बुहारीसँग केही महिना बिताए । पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा-बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किए । बागलुङ फर्किएपछि मानवसेवा आश्रममा आए । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ ।

आज भाद्र कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरूले सानो छँदा बाबा भनेर अँगालो र पिठ्युमा झुन्डिएको यादले उनलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने गरकेाे पाठकले बताए ।

छोराहरू हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको उनले सुनाए। अझै पनि छोराहरूले आफूलाई साथैमा लिएर पाल्ने आश उनमा छ । तर, जेठो र माइलोसँग चार वर्षदेखि र कान्छोसँग तीन वर्षदेखि उनको सम्पर्क भएको छैन ।

‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरूले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरुलाई हुर्काइन्, उनीहरुले पढ्न जाहे जति पढाएँ पनि, जब बूढी बिती, त्यसपछि छोराहरूले मलाई हेर्न छोँडे,’ पाठकले भने, ‘अब हातपाखुरा बस्न थाले, छोराहरूले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पुर्‍याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आश त लाग्दो रै’छ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।’

पाठकले छोराहरू पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरुले आफूलाई हेला गरेको बताउँछन्। गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताए । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरूले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोखे ।

पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती परदेशमा छन् । गाउँमा बूढा बाआमा मात्रै छन् । पाठक समय-समयमा आफ्नो परिवारलाई सम्झेर निराश हुने गरेको मानवसेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताइन् । परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाकठ आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उनले बताइन्।

‘बुबाले आफ्नो छोराहरूलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरू कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरू बुबालाई भेट्न एक पटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ,’ तामाङ भनिछन् ‘यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरूलाई हेर्ने, अरू काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपर्थ्याे, छोराहरू आए जान्छु भन्नुहुन्छ, बेला-बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *