हैटौंडामा चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ

सामूहिक राजीनामासहित चिकित्सकहरूद्वारा आन्दोलन घोषणा

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरिएको हो।

बुधबार सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो।

अस्पतालमा प्रारम्भिक उपचार गरी रिफर गरिएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको साउन २५ गते चितवनमा उपचाररत अवस्थामा मृत्यु भएको विषयलाई लिएर उनीहरूमाथि कुटपिट भएको थियो।

अहिले कुटपिट गरेकाे सीसीटीभी फुटेजकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यसैबीच हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आन्दोलन घोषणा गरेका छन्।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै अगाडि सुरक्षाको माग गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।
कुटपिटमा संलग्नलाई कारबाही र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गर्दै आन्दोलनका घोषणा गरेका हुन् ।

बिहीबार बिहान हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईं र मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको उपस्थितिमा चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीले २४ घण्टाभित्र घटनामा संलग्नलाई हदैसम्मको कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले अस्पतालमा कार्यरत डाक्टरहरूले शान्तिसुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर