सुन तस्करी प्रकरण

चिनियाँ गिरोहले ‘ब्रेक शु’ मा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको सीआईबीको निष्कर्ष

६० किलो सुन प्रकरणमा दावाकी श्रीमती अमला रोकासहित ५० जना प्रतिवादी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चिनियाँ समूहले ‘ब्रेक शु’ बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ। ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जनालाई प्रतिवादी बनाएको जानकारी दिएको छ।

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सुन तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको बताइन्।

उनले भनिन् ‘अहिलेसम्म आयात भएका सुनहरू पहिला ६० किलो थियो र पछि आएर सबै ब्रेक प्याडहरूलाई यकिन गर्दा ३०२ किलो र ६२ किलो थप ल्याएको देखिन्छ। त्यसलाई हिसाब गर्दा जम्मा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रूपैयाँको बिगो कायम गरेर मुद्दा अघि बढाउँदै छौं।’

६० किलो सुन प्रकरणमा पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्। फरार हुनेमा माओवादी केन्द्रका उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्।

अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।

एआईजी बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर