बेपत्ता भएको १६ दिनपछि मृत भेटिए मेजर विमल पण्डित

गत भदौ १० गतेदेखि बेपत्ता डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाकाे नन्दबक्स गणअन्तर्गत रहेको गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डित १६ दिनपछि मृत भेटिएका छन्। उनको शव मंगलबार बिहान भेरी नदीमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको शव भेटिएको हो।

भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सो शव मेजर पण्डितकै भएको उनको परिवारका सदस्यले सनाखत गरेका हुन्।

शव फेला परेपछि डीएसपी बुढाथाेकीकाे कमाण्डमा प्रहरीसहित सेना र सशस्त्र प्रहरीको टोली र मेजर पण्डितका दाजु कुमार पण्डित पनि घटनास्थल पुगेका थिए।

शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनै लगिएको छ।

काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई नेपाली सेनाको डोल्पामा तैनाथ नन्द बक्स गणअन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा कार्यरत मेजर पण्डित गत भदौ १० गते साँझदेखि बेपत्ता भएका थिए।

मेजर पण्डित सो दिन आफ्नो अंगरक्षक नलिई ब्यारेकबाट निस्किएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर