भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजले रणनीतिक साझेदारी परिषद्का दुई मन्त्रीस्तरीय समिति अर्थात् राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग समिति र आर्थिक तथा लगानी सहयोगसम्बन्धी समितिअन्तर्गत भएका प्रगतिको समीक्षा गरेका छन्।

प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबीच राजनीतिक, सुरक्षा, रक्षा, व्यापार र आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल भएको छ।

दुवै नेताबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको छ।साउदी युवराजका साथ मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसहित एक उच्चस्तरीय प्रतिनिधिमण्डल भेटवार्तामा सहभागी थियो।

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि साउदी अरबका युवराजलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो।

यसैबीच मोहम्मद बिन सलमानले एक संक्षिप्त वक्तव्यजारी गर्दै जी-२० को सफल अध्यक्षताका लागि भारतलाई बधाई दिएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘राम्रो कामका लागि भारतलाई उच्च सम्मान छ। धेरै घोषणाहरू गरिएका छन् जसले हाम्रा देशहरू, जी-२० सदस्य राष्ट्र र सम्पूर्ण विश्वलाई फाइदा पुर्‍याउनेछ,’ उनले भने, ‘राम्रो भयो र हामी दुवै देशको भविष्य निर्माण गर्न काम गर्नेछौं।’

जी-२० नेताहरूको शिखर सम्मेलनमा भारत, संयुक्त राज्य अमेरिका, साउदी अरब र युरोपियन युनियनले भारत-मध्य पूर्व-युरोप सामान आपूर्ति र रेलवे कनेक्टिभिटी करिडोर सुरू गर्न ऐतिहासिक सम्झौताको घोषणा गरेका छन्। भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ईयू, फ्रान्स, इटली, जर्मनी र अमेरिकासम्मिलित कनेक्टिभिटी र पूर्वाधारमा सहयोगका लागि यो ऐतिहासिक र पहिलो पहल हो।

जी-२० शिखर सम्मेलनमा बोल्दै राजकुमार बिन सलमानले भने, ‘हामी यस बैठकमा घोषणा गरिएको पहल र आर्थिक करिडोर परियोजनाको एकीकरणको लागि तत्पर छौं। यो महत्त्वपूर्ण आर्थिक करिडोर स्थापनाका लागि यो चरणमा पुग्न हामीसँग काम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु।’

भारतीय प्रधानमन्त्री मोदीले यस सम्झौताले विश्वभर कनेक्टिभिटी र दिगोपनालाई दिगो दिशा प्रदान गर्ने बताएका छन्।

यसअघि साउदी अरबका युवराजले सन् २०१९ को फेब्रूअरीमा भारतको राजकीय भ्रमण गरेका थिए।

द्विपक्षीय भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत सहभागी थिए। भारतको तीनदिने राजकीय भ्रमणमा रहेका साउदी अरबका युवराज तथा प्रधानमन्त्री जी-२० शिखर सम्मेलनमा सहभागी भएका थिए।

दुवै नेताले रणनीतिक साझेदारी परिषद्को प्रथम बैठकको सहअध्यक्षता पनि गर्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर