जी-२० शिखर सम्मेलन

जी-२० अब जी-२१, अफ्रिकी संघ बन्यो नयाँ सदस्य

युरोपेली संघ र १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तरसरकारी संगठन जी-२० मा नयाँ सदस्य थपिएको छ। संगठनको स्थायी सदस्यका रूपमा अफ्रिकी संघ थपिएको हो।

आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरू भएको जी-२० शिखर सम्मेलनमा अफ्रिकी संघ संगठनमा आबद्ध भएको हो।

जी-२० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघको प्रतिनिधत्व गरिरहेका संघका अध्यक्ष अजाली असुमानीलाई जी-२० को स्थायी सदस्यका रूपमा सदस्य राष्ट्रका नेताहरूसँगै आसन ग्रहण गर्न आग्रह गरे।

‘सबैको स्वीकृतिमा अफ्रिकी संघका अध्यक्षलाई जी-२० को स्थायी सदस्यको रूपमा आफ्नो स्थानमा बस्न अनुरोध गर्दछु’ प्रधानमन्त्री मोदीले आफ्नो स्वागत मन्तव्यका क्रममा भने।

प्रधानमन्त्री मोदीको अनुरोधसँगै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले युनियन अफ कोमोरोसका अध्यक्ष एवं अफ्रिकी संघका अध्यक्ष असुमानीलाई विश्व नेताहरूका स्थानमा लिएर गए। त्यसबीच असुमानीले मोदीसँग अंकमाल गरेका थिए।

जी-२० को सदस्यका रूपमा अफ्रिकी संघलाई समावेश गर्नु भारतको उद्देश्य थियो जुन पूरा भएको छ। प्रधानमन्त्री मोदीले नै अफ्रिकी संघलाई संगठनमा ल्याउन प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री मोदीले गत जुनमा जी-२० का आफ्ना समकक्षीहरूलाई पत्र लेखेर नयाँदिल्ली शिखर सम्मेलनमा अफ्रिकी संघलाई पूर्ण सदस्यता प्रदान गर्न अनुरोध गरेका थिए।

सन् २००२ मा सरू भएको अफ्रिकी महादेशका ५५ देशको समूह अफ्रिकी संघलाई संघमा आबद्ध देशहरूको अनुरोधमा पूर्ण सदस्यता दिन प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए।

अफ्रिकी संघ स्थायी सदस्य बनेसँगै जी-२० को सदस्य संख्या २१ पुगेको छ।

यसअघि जी-२० मा युरोपली संघ, अष्ट्रेलिया, अर्जेन्टिना, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रूस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका आबद्ध रहेका छन्। अब जी-२० मा दुई संघ र १९ राष्ट्र सदस्य भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर