तीन सचिवको सरूवासहित यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल न्याय सेवा, राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीहरूलाई सरूवा गर्ने निर्णय गरिएको जानकारी दिएकी छन्।

शुक्रवार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उनले यसबारे जानकारी गराएकी हुन्।

उनका अनुसार प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटालाई कानून मन्त्रालयमा, कानून आयोगका सचिव लीलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री कार्यालयमा र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगमा सरूवा गरिएको छ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, जनवादी गणतन्त्र चीनको बेइजिङमा भदौ २६ देखि २९ गतेसम्म आयोजना हुने नेपाल-चीन संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिइन्।

यस्तै मन्त्री शर्माले माथिल्लो दरौंदी साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको ४.९२४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली-२०८० स्वीकृत गर्ने, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा. डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय भएको बताइन्।

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका लागि ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक-२०८० संघीय संसदमा पेस गर्ने, निजामती सेवा दिवस-२०८० को अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति-२०८० स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी गराइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर