लाहुरे सपना त्यागेर टायर मिस्त्री बनेका राजा, कमाउँछन् वर्षकाे १० लाख

अहिलेको समयमा यातायात सामान्य कुरा हो । सार्वजनिक र निजी सवारीसाधन सडकमा गुडिरहन्छन् । गुड्दागुड्दै टायरमा समस्या देखिन सक्छ । त्यस्तो बेला के गर्ने ?

झट्ट मिस्त्रीको सम्झना आउँछ । मिस्त्रीले नै सबै ठीकठाक पार्न सक्छन् । त्यस्तै एक मिस्त्री हुन् अहमद राजा ।

उमेरले २५ वर्ष पुगेका अहमद राजा भारतमा जन्मिए । उनका बुबा टायर मर्मत गर्ने पेसा गर्थे । सोही पेसालाई निरन्तरता दिँदै अहमद राजा हाल टायर मिस्त्री बनेका छन् ।

बुबा खुर्सिद मियाँले नारायणटारको शिवचोकमा सुरूवाती चरणदेखि राखेको पसल हालसम्म छ । र, त्यसैमा आफ्नो काम सिक्नेदेखि मिस्त्री हुनेसम्मको संघर्ष जोडिएको राजा बताउँछन् ।

‘बुबाले नेपाल आएर टायर बनाउन गर्न थाल्नुभएको ३५ वर्ष भयो,’ राजा भन्छन्, ‘अहिले बुबालाई ग्यास्ट्रिक, आँखा कम देख्ने, खुट्टा झमझमाउने, जीउ दुख्ने समस्याले सताइरहेको छ । त्यसैले सम्पूर्ण कामको जिम्मा मलाई दिनुभएको छ ।’

कक्षा १२ को परीक्षा दिएपछि काठमाडाैं घुम्न आए राजा । बुबा बसेको ठाँउमा आएर १० दिनजति घुमेर पुनः घर फर्किए । चिडियाघर, घण्टाघर, स्वयम्भू, पशुपति, चन्द्रागिरि घुमेको स्मरण गर्छन् उनी ।

‘पैसाको महत्त्व बुझेर पढाइभन्दा काम नै गर्छु भन्ने लाग्यो र फेरि एक वर्षपछि काठमाडौं फर्किएँ,’ राजा भन्छन् ।

बुबाले गरेको जस्तै काम गर्ने रूचि भए पनि सुरूमा धेरै नै गाह्रो लाग्ने गरेकाे उनले सुनाए । ‘काम सिक्दा शरीरका धेरै ठाँउमा चोट लाग्यो । तैपनि सिकाइको शृंखला अनवरत चलिरह्यो । कहिले हम्मरले लाग्थ्यो, कहिले पेचकस उछिट्टिएर घोच्थ्यो ।’

संघर्ष गर्नुपर्ने र आफ्नो जिम्मेवारीदेखि कहिले पछि पर्न नहुने पाठ बुबाले नै सिकाएकाे राजाले बताए । उनी कामलाई नै आफ्नो पहिचान मान्छन् ।

‘बुबाले महिनाको दुई हजार कमाउनुहुन्थ्यो । बिस्तारै आफूले पनि साथ दिन थालेपछि महिनाको १० हजार हुँदै ३० हजारसम्म कमाउन थालियो,’ उनी भन्छन् । तर, अहिले बुबाको स्वास्थ्य अवस्था खराब हुन थालेपछि एक्लैले सम्पूर्ण काम हेर्न थालेका छन् राजाले ।

जीवनमा एक्लै हुनुका अनेक दुःख छन् । यस्तो दुःख राजालाई पनि छ । ‘एक्लै काम गर्न त गाह्रो हुने रहेछ,’ उनले सुनाए, ‘टायर उचाल्न ज्यान जालाजस्तो हुन्छ । यस्तै टायर फिट गर्ने, टायरमा हावा हाल्ने, टायर टाल्ने काम एक्लै गर्छु । तर, निकै गाह्रो हुन्छ ।’

मिहिनेत गर्दै जाँदा दैनिक ३ देखि ४ हजार रूपैयाँसम्म पनि कमाउन थालेको राजाको भनाइ छ ।

‘पैसा हातमा परेपछि खुसी पनि लाग्थ्यो,’ राजा भन्छन्, ‘आफू एक्लैले एक वर्ष बुबाले राखेको पसल चलाएँ । राम्रो फाइदा र आम्दानी देखेर अर्को पसल पनि खोल्न मन लागेर गाउँबाट भाइलाई बोलाएर उसलाई पनि काम सिकाएँ ।’

यसरी भाइले पनि पूरा काम सिके । काम सिकेपछि बुबाले स्थापना गरेकाे पसल भाइलाई चलाउन दिए । आफूले भने नयाँ पसल सञ्चालन गरे । ‘नयाँ पसल जम्मा ३ लाख रूपैयाँमा खोलेको हो,’ उनी मुस्कुराउँदै भन्छन् ।

सामान सबै सेकेन्ड ह्यान्ड लिएकाले सामान्य लगानीमै पसल सुरूवात गर्न सम्भव भएको राजा बताउँछन् । उनले आफ्नै नाम ‘राजा टायर रिपेयरिङ सेन्टर’ बाट नारायणटार शिवचोकमा पसल खोलेका छन् ।

‘उता भाइले महिनाको २५ हजार कमाउँछ । यता म दिनको ५०० देखि १ हजारसम्म कमाउँछु,’ कमाइको राजाले सपना पनि देखेका छन्, ‘मेरो अझै २ लाख ऋण छ । ऋण तिरिसकेर एउटा घर बनाउने सपना छ । दाजुभाइ मिलेर गाँउमा शानदार घर बनाएर पनि देखाँउछु ।’

पहिले भारतीय आर्मी हुने रहर भए पनि आर्थिक अवस्था कमजोर हुँदा टायर पसलमा आएको राजाले सुनाए ।

अहिले दाजुभाइको वार्षिक १० लाख रूपैयाँ कमाइ हुन्छ । गर्न सके नेपालको सम्भावना रहेको बताउने राजा मिहिनेत गर्दा अवश्य सफल भइने बताउँछन् ।

राजाले बाइकको टायरमा हावा हालेको पाँच रूपैयाँ र गाडीको टायरमा १० रूपैयाँ लिने गरेको बताए । टायर पन्चर बनाएको, सानो गाडीको एक सय, मझौलाको १५०, ठूलोको २ सय र नयाँ टायर खोलफिट गरेको एक सय रूपैयाँ ।

‘सबको काम से प्यार करना चाहिए,’ हिन्दीमै बोल्न थाले राजा, ‘कोही काम छोटा या बडा नहीं होता । छोटा काम से भी एक दिन बडा मुकाम हासिल करके दिखाउंगा ।’

स्रोत : आईएनएस स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *