आफूमाथि खुकुरी प्रहारअघि यादवले भनेका थिए- चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्छ

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो खुकुरी प्रहार भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस क्लब नेपालमा आयोजित एक विशेष साक्षात्कार कार्यक्रममा सहभागी यादवमाथि खुकुरी प्रहार भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलका अनुसार यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति सोही कार्यक्रममा सहभागी श्यामबहादुर सापकोटा हुन्।

नुवाकोटको विदूर नगरपालिका-७, तुप्चे घर भई हाल काठमाडौंको बालाजु पैयुटार बस्ने ४७ वर्षका सापकोटा आफूलाई राजावादी बताउँछन्।

उनको खुकुरी प्रहारबाट घाइते भएका सहमहामन्त्री यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

खुकुरी प्रहारबाट यादवको टाउकोको पछाडिपट्टिको भागमा गहिरो चोट लागेको छ।

खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ।

यादवमाथि किन भयो खुकुरी प्रहार?

स्मरण रहोस्, नेपालका लागि चीनका राजदूत छन सोङले हालै नेपाल-भारत सम्बन्धका विषयमा गैरकूटनीतिक अभिव्यक्ति दिएका थिए। यसको अहिले सर्वत्र आलोचना भइरहेको छ।

राजदूत सोङले गत शनिवार आयोजित एक कार्यक्रममा नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद अभिव्यक्ति दिएका थिए। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा उनले कूटनीतिक मर्यादाविपरीत नेपाल-भारतबीचको सम्बन्ध र व्यापारमा टिप्पणी गरेका थिए।

साक्षात्कार कार्यक्रममा सहभागी कांग्रेस सहमहामन्त्री यादवले आफूमाथि खुकुरी प्रहार हुनुअघि चिनियाँ राजदूतको अभिव्यक्ति र चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेकोप्रति आपत्ति जनाएका थिए।

यस्तै चीनले कोरोना भाइरस महामारीलगायतको बहानामा पटक-पटक नाकाबन्दी गरेर नेपाललाई असयोग गरे पनि भारतबाट भने जस्तोसुकै समयमा पनि निरन्तर सहयोग प्राप्त भइरहेको बताएका थिए।

यादवले परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए।

यहीबीच उनीमाथि अचानक खुकुरी प्रहार हुनुले शंका पैदा गरेको छ। कतै चिनियाँ राजदूतको अभिव्यक्तिबारे यादवले उठाएका विषयकै कारण उनीमाथि खुकुरी प्रहार भएको त होइन भन्ने शंका उब्जिएको हो। प्रहरीले खुकुरी प्रहार गर्ने सापकोटालाई पक्राउ गरेर यसबारे सोधपुछ गरिरहेको छ।

साक्षात्कारमा के भनेका थिए यादवले?

कार्यक्रममा यादवले भनेका थिए, ‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, वास्तवमा नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ। यो कूटनीतिक मयार्दाको विपरीत हो। नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो। हामी कोसँग मित्रता राख्छौं, कोसँग व्यापार गर्छौं, यो हाम्रो निजी मामिला हो।’

राजदूतको सोङको अभिव्यक्तिले नेपालको सार्वभामिकतामाथि हनन् गरेको र नेपालीहरूलाई अपमानित गरेको यादवको भनाइ थियो।

उनले भनेका थिए, ‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ। चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो। तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन। उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन् हो। नेपालीहरूलाई उहाँले अपमानित गर्नुभएको छ।’

यादवले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नराखेकोमा पनि विरोध जनाए।

उनले भने,‘चीनले आफ्नो नक्सा जारी गर्‍याे, अरू देशको जमिन राखेर बनाउने होइन। हाम्रो चुच्चे नक्सा छ। संसदले पास गरेको छ। अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्सा राखेन। चीनसँगका हाम्रा नाकाहरू कोभिडकै बेलामा बन्द भए। हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं। तर, भारतबाट राहत पायौं। हामीलाई परेको बेलामा भारतबाट सहयोग भइरहेको छ। अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस्। पढाउने कोसिस नगर्नुहोस्। सरकारले स्पष्टीकरण सोध्नुपर्छ। लिनुपर्छ।’

नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदूतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्‍याउने काम गर्न नहुने यादवले बताए।

उनले भने, ‘विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं। भारतसँग भने १७ अर्ब बिजुली किनेका छौं। नेपालमा लोडसेडिङ भएको बेला भारतले सहयोग गरेको हो। भारत हाम्रो विशेष छिमेकी मुलुक हो। हामीबीच खुला सीमा छ। संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन्। यही भएर विशेषखालको सम्बन्ध छ। यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्‍याउने काम गर्नु हुँदैन।’

उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए। ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो। यो अविलम्ब रोकेर आइन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु,’ उनले भने।

यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए। उनले भने,‘परराष्ट्र मन्त्रायलले यो मामलिामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ। जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन। चिनियाँ राजदूत हाम्रो हेडमास्टर होइन। उहाँले हामीलाई पढाउने होइन। सिकाउने होईन।’

नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरूलाई कुटनीतिक मामिलामा सिकाउने स्विकार्य नभएको उनको टिप्पणी थियो। उनले भने,‘कूटनीति हामीलाई पनि थाहा छ। चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ। हामीले चीनलाई केरूङ-काठमाडौं रेलमार्ग बनाइदेऊ भनेका छौं। तर भएको छ त? हामीले त अनुदान र फ्रीमा बनाउन भनेका छौं। पोखराको एयरपोर्ट चाहिने लागतभन्दा दुई गुणा बढीमा निर्माण भएको छ। अहिले त्यसको प्रयोग नै भएको छैन। त्यसको पनि ऋण थपिएको थपियै छ। ब्याज बुझाउन सकेका छैनौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *