सुशासन कायम गर्ने मामिलामा सदन र सरकार मिलेर काम गरौं : मन्त्री साह

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले संसदीय समितिले ऐन-कानून निर्माणमा संविधानको मर्म र भावनाअनुरूप सबै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानून निर्माणका क्रममा विगतका भोगाइ र असल अभ्यासको अनुसरण गर्दै राज्य व्यवस्था सञ्चालनमा सुशासन कायम गर्न एकजुट भएर काम गर्न आवश्यक रहेको बताइन् ।

समिति सभापति रामहरि खतिवडाले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्ने सन्दर्भमा संसदीय समितिका सदस्यले दलभन्दा माथि उठेर उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जातजाति, समुदाय, धर्म र दलभन्दामाथि जनहित र राष्ट्रका लागि काम गरौँ, त्यसका लागि असल अभ्यास र उपयुक्त वातावरण बनाऔँ ।’

समितिका सदस्यहरूले मुलुकका केही भागमा देखिएका घटनाबाट नेपाली समाजमा सदियौँदेखि रही आएको सद्भावना बिथोल्न खोज्ने प्रयास भएकाले त्यसप्रति सजग रहन आग्रह गरे । उनीहरूले मुलुक भ्रष्टाचारको दलदलमा भासिने सासद र सांसद रमिते बन्ने परिस्थिति अन्त्य गर्न पहलकदमीको खाँचो औँल्याए ।

जनताले अनुभूति गर्ने गरी देश र जनताका पक्षमा संसद् र संसदीय समितिले काम गर्न जरुरी रहेको बताउँदै सदस्यहरूले सङ्घीय निजामती, प्रहरी र शिक्षासम्बन्धी विधेयकलाई छिटो निकास दिनु आवश्यक रहेको बताएका थिए ।

सुशासन र कानूनी राज्यको अनुभूति दिलाउनुपर्ने कयौँ निकायबाट हुने निर्णयले पूर्वाधार निर्माणलगायत विकास कार्यक्रममा बाधा उत्पन्न गराएको पक्षलाई ससदले कानुन निर्माणका क्रममा विशेष ध्यान पुर्‍याउन सदस्यले सुझाव दिए । बैठकमा सदस्यले समितिको प्रभावकारिता र सभापति खतिवडालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर