प्रहरीले सञ्चालनमा ल्यायाे पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट

नेपाल प्रहरीले ‘पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण’ राखिएको वेबसाइट https://udb.nepalpolice.gov.np/ सञ्चालनमा ल्याएकाे छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच बेवसाइटकाे उद्‍घाटन गरेका हुन्।

उद्‍घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले निर्माण भएको वेबसाइटको सुरक्षाका साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए।

वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा सञ्चालन गर्दै धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्‍याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास उनले व्यक्त गरे।

नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताए।

कार्यक्रममा वेबपेज निर्माण गर्ने कम्पनी योङ्‍गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा. श्रीधर मरासैनीले वेबसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिएका थिए।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाख २ गते निर्णय गरेकाे थियाे।

साेबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटी सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेबसाइट आजैबाट प्रयोगमा आएको उक्त अवसरमा जानकारी दिइयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र योङ्‍गमाइन्ड्स क्रियसन प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *