शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन्।

दाङको घोराही उपमहानगरपालिका-१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र) ले सुरू गरेको तीनमहिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताइन्।

उनले शहीदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहीदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिइन्।

वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माले बताइन्।

इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उनलेसुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताइन्।

शान्ति प्रक्रियापछि पार्टी पटक-पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बीचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउन यो अभियान सुरू गरिएको बताइन्।

सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उनले राजनीतिलाई सेवाका रूपमा लिनुपर्ने बताइन्।

सो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउदा ११ जनाको ज्यान गएको थियो। मन्त्री शर्माले शहीदको शालिकमा माल्यार्पण गरी अभियानको उद्घाटन गरेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर