गीताशास्त्रमा समग्र मनुष्यको अधिकार

गीता एक—प्रतिध्वनि अनेक—३

महाभारतमा युद्धको कथा र चर्चामात्र रहेकाले महाभारत भनेपछि युद्ध,  झगडा,  विवाद र मारकाट भन्ने मात्र बुझिन थालेको हो। तर महाभारत भन्ने ग्रन्थमा नै श्रीमद्‌भगवतगीताको भाग पनि रहेको छ जसले युद्धभन्दा पनि दैनन्दिनी जीवनका लागि कर्मयोगका बारेमा बहसको थालनी गरेको छ।

गीतामा वेदको सारांश छ,  उपनिषद्को गुदी समेटिएको छ,  कर्मको आधार देखाइएको छ, भक्तिमार्गको डोरेटो पहिचान गरिएको छ र योगलाई नयाँ तरिकाले परिभाषित गर्दै योगसँग जीवनको तादात्म्यता स्पष्ट पारिएको छ। योग भनेको जोड हो र योगले जीवन तथा जगतसँग कसरी तादात्म्यता राख्न सक्छ भनेर योगलाई कर्म,  भक्तिसँग जोड्दै कर्म गर्ने तर फलको आशा नगर्ने योगाभ्यास गर्नका लागि प्रेरित गरेको पाइन्छ।

पूर्वीय चिन्तनलाई विश्वभर सहज तरिकाले सम्झाउने गीता नै हो भनेर ठोकुवा गरिएको छ। यो जीवन दर्शनको रहस्यमय गुत्थी सुल्झाउन समर्थ छ भन्ने कुराको प्रमाणचाहिँ अर्जुनमा पलाएको विषाद र विषादको अन्त्य गरेर उनले बिसाएको गाण्डीवलाई फेरि प्रयोग गर्दै धर्मयुद्धका लागि तयार हुनुलाई मानिन्छ। कतिपय कुराहरू रहस्यमय छन् जसले जीवनका धेरै गुत्थीहरू सुल्झाउनका लागि अभिप्रेरित गर्दछन्। त्यस्ता  गुत्थीहरू  शदियौँसम्म समााधानका लागि अध्येताहरू लागिरहने छन् भन्ने विश्वास गर्न सकिन्छ किनभने आज पनि त्यसको अध्ययनमा अध्येताहरू लागिरहेका छन्।

वेदका बारेमा कसले पढ्न हुन्छ,  कसले पढ्न हुँदैन र कसरी त्यसको अध्ययन,  अध्यापन गर्न गराउन सकिन्छ भन्ने बारेमा अनेक नीति तयार गरेको पाइन्छ तर गीताका लागि भने यस्तो कुनै अवरोध कसैका लागि पनि राखिएको छैन। यस गीताशास्त्रमा मनुष्यमात्रको अधिकार छ, चाहे ऊ कुनै पनि वर्णको होस्,  कुनै आश्रमको होस् तर भगवानमा श्रद्धालु र भक्तियुक्त अवश्य हुनुपर्दछ किनकि भगवानले आफ्ना भक्तमा नै यसको प्रचार गर्नका लागि आज्ञा दिनुभएको छ। यो पनि भनिएको छ कि स्त्री,   वैश्य,  शूद्र र पापयोनिमा पनि मेरो परायण भएर परमगतिमा प्राप्त गर्नेछन्।

“जुन व्यक्तिले हामी दुईको यस धर्ममय संवादरुपी गीताशास्त्रलाई पढ्छ,  उसद्वारा पनि म ज्ञानयज्ञद्वारा पूजित हुन्छु भन्ने मेरो धारणा छ। सत्य, धर्म र ज्ञानका लागि दिइएको गीताज्ञानले मानिसहरूमा कर्म गर्ने प्रेरणा प्राप्त भइरहने छ र यसको नयाँ नयाँ अनुशीलन भई रहने छ भन्ने कामना गर्नु नै श्रेयस्कर छ।”- श्रीकृष्ण

संस्कृत वाङ्‌मयमा अनेक रत्नहरू छन्,  जसको प्रयोग अहिले हामी पूर्वीयले भन्दा पश्चिमाहरूले बुझेर अर्थ लगाउने अनि त्यसबाट नयाँ नयाँ आविष्कार गर्ने गर्न थालेका छन्। संसारमा अहिले संस्कृतको महत्वलाई बुझेर होला,  विभिन्न देश,  विभिन्न विश्वविद्यालयहरूमा संस्कृत विभागहरू राखेर सूक्ष्मरूपमा अध्ययन गर्न थालिएको छ र हाम्रा श्रुतिस्मृतिहरूको गहिरो अध्ययन गर्नका लागि अनुसन्धानको व्यवस्था गरिएको पाइन्छ। पश्चिमले भनेपछि बल्ल हामीलाई हाम्रो पौराणिक भाषा,  पौराणिकताको महत्व बढेको भान हुन थालेको छ।

जुनबेला संस्कृत भाषाको विकासले आफ्नो उर्ध्वगति लिएको थियो,  संस्कृतमा अनेक साहित्यको सृजना गरिएको थियो र साहित्यमार्फत् नै जीवन —जगतको परिभाषा गरिएको थियो,  व्याख्या गरिएको थियो र त्यसको अभ्यास गरिएको थियो,  त्यो बेलामा आजका कतिपय देशहरूको अस्तित्व नै थिएन। पूर्वीय संस्कृतिको प्रादूर्भावका बारेका अनुमानका आधारमा मात्र भन्न सकिने गरी प्राचीनतम समयको संस्कृति मान्न थालिएको छ। हामी आजको आँखाबाट हिजोको व्याख्या गर्न तम्सिएका छौँ। अझ आधुनिक समयले गणना गर्न पनि नसक्ने बेलाको मनोविज्ञानको अहिलेको अवस्थामा कसरी व्याख्या गर्न सकिन्छ र ?

प्राच्य वाङ्‌मय हाम्रा तपस्वी,  ध्यानमग्न र सधै अनुशीलनका लागि अभ्यासरत मुनिहरूको ज्ञान र अनुभूतिहरूको अनुपम उदाहरण हो। समयले गणना गर्ने बेलाभन्दा पनि पहिले देखि नै आफूलाई ज्ञान,  विज्ञान र साहित्यको क्षेत्रमा समर्पण गर्ने प्राचीन मनीषीहरूले नै  विश्वकै प्राचीनतम ग्रन्थ ऋग्वेददेखि समस्त वैदिक साहित्य, विभिन्न जीवन दर्शनहरू,  जीवनका लागि आवश्यक उदाहरणहरूको साहित्यिक प्रक्रियामा वयान गर्दै पुराण,  ज्योतिष,  व्याकरण,  योग,  आयुर्वेद एवम् कला साहित्यसमेत समेटिएका अमूल्य रत्नहरूको आविष्कार गरेका रहेछन् भन्दा अत्युक्ति हुँदैन।

हाम्रा ऋषि मुनिहरूले अत्यन्त जोड केमा दिएका थिए भने संसार अनित्य छ,  नित्य भनेको प्रकृति हो र प्रकृतिमा प्रादूर्भाव भएको मानव स्वत्व हो। संसार परिवर्तनशील छ। यस जगतका चर अचर, सजीव निर्जीव,  देखिएका नदेखिएका सबै पदार्थहरू परिवर्तनशील छन्। यहाँ नित्य र स्थायी भनेको केही छैन। कसैले यसको सञ्चालन गरिरहेको छ र त्यो अदृश्यरूपमा भए पनि हामीसँग पटक्कै टाढा पनि छैन,  नजिक पनि छैन,  सँगै पनि छैन र पनि शरीर अनि आत्माको रूपमा रहँदा एउटा परमात्माको अस्तित्व स्वीकार गरेको हुन्छ। अझ भनौँ,  ब्रह्मको आविष्कार नै एउटा जीवनको गुत्थी सुल्झाउने आधार बनेको हो। ब्रह्म परिवर्तनशील छैन तर ब्रह्मका आधारमा नै जीवले आफूलाई सचेत पाएको छ,  ब्रह्मको कमी हुँदैन तर त्यो आत्माको रूपमा यताउता सरिरहन्छ। परिवर्तनका पछाडि कुनै त्यस्तो अदृश्य तत्वको हात छ जुन शास्वत छ,  सनातन  छ र उसको कहिल्यै परिवर्तन हुँदैन।

हामी पश्चिमको गुणगान गाउँछौँ तर पश्चिमाहरू कुनै पनि आविष्कार र दर्शनका बारेमा,  साहित्यको बारेमा आफूलाई पहिलो नभएको बताउँछन् र पूर्वीय वाङ्‌मय,  अझ संस्कृत वाङ्‌मयका अघिल्तिर आफ्ना आविष्कार, साहित्य फिका रहेको ठान्छन्। विश्वका सबै सभ्यता जोड्दा पनि हाम्रो सनातन सभ्यता र यसको दर्शन,  चिन्तन र ज्ञानका सामुन्ने पश्चिमाहरूले तयार गरेको धारणा सूर्यका अघिल्तिर पिलपिले बत्तीजस्तै धूमिल र ज्योतिहीन ठहरिन्छ। यो कुनै गर्व र घमण्ड होइन,  यो त पूर्वीय संस्कृतिले जगेर्ना गरेको सभ्यताको प्रतिफल हो। पूर्वीय सभ्यतामा जहिले पनि शान्ति शान्ति, वनजंगलको शान्ति,  सर्वौषधिले शान्ति गरोस्,  वनस्पतिको लागि शान्ति बनोस् र मानजमात्रको लागि शान्ति,  सम्पूर्ण प्राणीहरूको शान्ति र ब्रह्माण्डको शान्तिसँग यो हामी बसेको मृत्युलोकसमेत रहेको संसार नै शान्तिमय होस् भन्ने धारणा राखेर प्रत्येक मन्त्रको उच्चारण गरिन्थ्यो। पृथ्वी सबै नै परिवार हो भनिन्छ। माता,  पिता,  गुरु, अतिथि सबैलाई देवताको रूपमा मानिन्छ भन्ने सभ्यतासँग बाँचेका हामीले अरुबाट खासै सिक्नेभन्दा पनि आफूले अझ बढी, समयानुकूल अभ्यास गरेर अरुलाई पथप्रदर्शन गर्नु आवश्यक छ।

गीता कुनै वर्ग,  वर्ण, जात, समुदाय, लिङ्ग,  देश,  भेष,  आश्रमका लागि नभएर सबैका लागि साझा सम्पत्ति मानिएको छ र संसारभर यसको अध्ययन गरिन्छ, अध्यापन गराइन्छ र यसका सूत्रबद्ध श्लोकहरूको अर्थ लगाउन असीमित ज्ञानको उपयोग गरिन्छ।

संस्कृत साहित्यमा कमीकमजोरी औँल्याउने विद्वानहरूले व्यंग्यात्मक शैलीमा भनेका छन्—संस्कृत साहित्यमा वियोगान्त शैली हुँदैन अर्थात् जीवनको हरेक पक्षलाई स्वीकार गर्दा त्यहाँ विषाद, अवरोध,  वैमनश्यता र भय हुँदैन।जहाँ मृत्युलाई सगर्व स्वीकार गर्ने परम्परा छ, जहाँ अर्को जन्मका लागि अरुको हितगर्ने परम्परा छ,  अरुका लागि मर्ने र आफ्नो सुखको नयाँ नयाँ परिभाषा दिने चलन छ। राजा भर्तृहरिको तीन समयको मनोभावका बारेमा साहित्य सृजना भएको छ जसले वैराग्य शतकलाई बढी नै जोड दिइएको पाइन्छ किनभने गीताले पनि  परामर्थको र अदृश्य शक्तिप्रतिको भक्तिभावलाई जोड दिएको छ। करिव  ३ हजार वर्षसम्म भारतवर्षमा  संस्कृत भाषाको प्रचलन रह्यो। सबैभन्दा बढी प्रचलनमा र भाष्य निर्माणमा महाभारतभित्रको गीतालाई लिइयो। विद्वानहरूले लामो बहस र अनुशीलनपछि भन्न थाले —श्रीमद्‌भगवतगीताको महत्व अपार छ। यो प्रस्थान त्रयमध्ये एक मानिन्छ। मानिसहरूको उद्धारका लागि तीन राजमार्गहरूको अनुभव गरिएको थियो, ती हुन् वैदिक प्रस्थान, दार्शनिक प्रस्थान र स्मार्त प्रस्थान। वैदिक प्रस्थानको प्रमुख आधार भनेको वेद र उपनिषद्हरु हुन् भने दोस्रो प्रस्थानका रूपमा ब्रह्मसूत्रलाई मानिन्छ अनि स्मार्त प्रस्थानका रूपमा गीतालाई लिइन्छ। भनिन्छ,  वेद, उपनिषद्‌मा मन्त्रहरू छन्,  ब्रह्मसूत्रमा सूत्रहरू छन् जीवनको लागि भने तेस्रो प्रस्थान गीतामा सूत्र पनि छन्,  मन्त्र पनि छन्। वेद,  उपनिषद् आधिकारिक व्यक्तिहरूका लागि हो, ब्रह्मसूत्र विद्वानहरूका लागि हो भने गीता सबैका लागि हो, सबैको हितका लागि रचना गरिएको ग्रन्थ हो। त्यसो त गीताका श्लोकहरू रहस्यमयी  भएकाले कसैले यसलाई सूत्र पनि भन्छन्,  गीतामा उपनिषद्को सार रहेकाले यसलाई उपनिषद्को पनि सरल  अर्थ राखिएको ग्रन्थको रूपमा मानिएको हो। गीता कुनै वर्ग,  वर्ण, जात, समुदाय, लिङ्ग,  देश,  भेष,  आश्रमका लागि नभएर सबैका लागि साझा सम्पत्ति मानिएको छ र संसारभर यसको अध्ययन गरिन्छ, अध्यापन गराइन्छ र यसका सूत्रबद्ध श्लोकहरूको अर्थ लगाउन असीमित ज्ञानको उपयोग गरिन्छ।

गीता एउटा अलौकिक पक्ष हो महाभारतमा किनभने यी अठार अध्यायमा कतै कसैको प्रशंसा, निन्दा नगरी अर्जुनको जिज्ञासाको नाममा वास्तविक जीवन रहस्यको निरूपण गर्न खोजिएको छ। वास्तविक तत्व भनेको आत्मा,  परमात्मा, ब्रह्म, परमब्रह्म नै हुन् जसले जीवनको रथ चलाएका हुन्छन् सचेतनाका अवस्थामा,  सुषुप्त अवस्थामा,  स्वप्नावस्थामा र सशरीर हिँड्दा बोल्दा र चिन्तन गर्दाका अवस्थामा। प्रकृति र पुरुषको योगले बनेको संसारमा सबै कुराहरू देखिनेमात्र छैनन्, प्राणवायुलाई कसले पो देखेको छ र ? तर त्यसको आवश्यकता कति पर्छ भन्ने कुरा त्यसको कमी हुँदा या त्यसको आवश्यकता महसुस हुँदा तत्काल पत्ता लाग्दछ।

गीतामा योग शब्दको अर्थ तीन तरिकाले लगाइएको पाइन्छ —समत्व, सामर्थ्य र चित्तवृत्ति निरोध। समताले भूचराचरलाई एउटै ठान्छ, सामर्थ्यले एकसँग अर्कोलाई समन्वय गराउँछ भने चित्तवृत्ति निरोधले नित्यानित्यको पहिचान गरी कर्मयोग,  भक्तियोग,  ज्ञानयोगको वयान गरिएको हो। कर्म गर्न ज्ञानको आवश्यकता पर्छ,   ज्ञान प्राप्त गर्न एकाग्रता अर्थात् भक्तिभावको जरुरत पर्दछ भने फलाफलको अपेक्षाले गरिने कर्मले न त भक्ति सम्भव छ,  न त ज्ञानको सदुपयोग हुनसक्छ। त्यसैले भनिएको हो फलको आशा नगरिकन कर्म गर,  अर्थात् फल त कर्मअनुसारको त्यसै पनि प्राप्त हुन्छ। चेतनाले नै आत्मा, परमात्मा, ब्रह्म र परमब्रह्मको अवस्थालाई ज्ञानको रूपमा अनभूति गराउने हो।

गीतालाई धर्मको रूपमा या धार्मिक ग्रन्थका रूपमा लिनु भन्दा पनि चेतनाको विकासक्रमलाई आत्मविद्याको रूपमा परिष्कृत गर्ने आवाजको रूपमा लिइँदै आएको देखिन्छ किनभने यसले अन्तर्चेतनाकाके झिल्को बालेको हुन्छ र हजारौँ वर्षदेखि संसारमा अनुपम ज्ञानको सम्प्रेषण गरेर यो लोक,  परलोक र निष्काम कर्मको परिपालन गर्नका लागि उत्प्रेरित गरिरहेको छ। कुनै पनि अपेक्षा पूरा गर्न सर्वप्रथम धारणा बन्नुपर्छ जसलाई कल्पना भन्छौँ,  अनि त्यसलाई क्रियान्वयनका लागि आधार तयार गर्नुपर्छ अनि त्यसलाई कर्म भन्छौँ,  कर्मलाई क्रियान्वयन गर्न ज्ञान चाहिन्छ, ज्ञानका लागि एकाग्रत चित्तले लगन राख्नुपर्छ जसलाई भक्तिभाव भन्छौँ र शरणागतीले भक्तिलाई कार्यसम्पादनमा लगाउन मद्दत गर्नेछ भनेर नै कर्मयोग,  ज्ञानयोग र भक्तियोगको समन्वयको यथार्थ चित्रणलाई महाभारतभित्रको गीताको रूपमा गाइँदै आएको रहेछ करिब ५ हजारवर्षदेखि।

गीताका प्रत्येक अध्यायका अर्थहरू मनीषीहरूले व्याख्यात्मकरूपमा यसरी गरेका छन् कि हामी रनभुल्लमा परेका हुन्छौँ तर जीवन र जगतका बारेमा ज्ञानप्राप्त, कर्मसाधना, अभ्यासको निरन्तरता र परिणामको अनपेक्षालाई नै त्यागको रूपमा वर्णन गरिएको हो भन्ने पनि छ। आत्मा,  जसलाई अस्तित्वको आधार मानिन्छ, जसलाई प्रकृतिको अनुपम आविष्कार मानिन्छ,  त्यही आत्माको व्याख्या गर्नका लागि र आत्माप्रति आफैँले कहिल्यै हीनताभाव नराख्नका लागि गीताले जहिले पनि प्रेरणा दिने कुरामा महान दार्शनिकहरू र जीवनको रहस्यलाई सुल्झाउने योगीहरूले महायोगीको रूपमा श्रीकृष्णलाई मानेका देखिन्छन्। उनी महापुरुषको रूपमा २८औँ द्वापरको अन्त्यतिर देखिने एक अद्भूत क्षमताका अभियन्ता,  कूटनीतिज्ञ, शान्तिका अग्रदूत र क्रान्तिचेतबाट परिवर्तनका बाहकका रूपमा समग्र पूर्वीय साहित्यमा भेटिन्छन्। संयोगान्त साहित्यको रचनाबाट संसारमा प्रतिष्ठित संस्कृत वाङ्‌मयमा जीवनको व्यावहारिक ज्ञानका लागि महाभारत र त्यसभित्रको अनुपम दार्शनिक रहस्यको भावका रूपमा गीता,  व्यक्तिमा हुनुपर्ने आदर्शका लागि रामायण,  व्याकरणमा पाणिनीको व्याकरणले संसारलाई नयाँ ज्योति दिएको मानिन्छ जसमा अपौरुषेय वेद अनि त्यसका ६ ओटा अंगहरूले देखाएको बाटो नै आजका लागि पनि पथ प्रदर्शक मानिन्छ।

युद्धको विभीषिकाबाट त्रस्त अर्जुनलाई उपदेश दिने निहुँमा श्रीकृष्ण भन्दछन्—

न जायते म्रियते वा कदाचित् नायं भूत्वा भविता वा न भूयः।

अजो नित्यः शाश्वतोयं पुराणो,  न हन्यते हन्यमाने शरीरे।।

(अर्थ—यो आत्मा न कुनै कालमा जन्मन्छ,  न त मर्छ नै , अथवा यो आत्मा पहिले भएर फेरि हुनेवाला होइन। त्यसैले यो आत्मा अजन्मा,  नित्य,  निरन्तर रहिरहने शाश्वत छ,  पुरातन पनि छ। यो शरीर मृत्यु भएपछि पनि यसको नाश हुँदैन। )

वासांसि जीर्णानि यथा विहाय,  नवानि गृह्वाति नरोपराणि।

तथा शरीराणि विहाय जीर्णा, न्यन्यानि संयाति नवानि देही।

(अर्थ—जसरी मानिसले पुराना कपडा फालेर नयाँ कपडा लाउँछन्,  त्यसैगरी जीवात्माले पनि पुराना शरीरहरूलाई त्यागेर नयाँ शरीर ग्रहण गर्दछ। )

नैनं छिन्दन्ति शस्त्राणि,  नैनं दहति पावकः। न चैनं क्लेदयन् त्यापो,  न शोषयित मारुतः।।

अच्छेद्योय,  मदाह्योय,  मक्लेद्योशोष्य एव च। नित्यः सर्वगतः स्थाणु,  रचलोयं सनातनः।।

(अर्थ—यो आत्मालाई शस्त्रले काट्न सक्दैन, यसलाई आगोले पनि डढाउन सक्दैन,  पानीले गलाउन पनि सक्दैन भने वायुले पनि सुकाउन सक्दैन। त्यसैले यो आत्मा नित्य, सर्वव्यापी,  अचल, स्थिर छ र सनातन छ।)

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च। तस्मादपरिहार्येर्थे, न त्वं शोचितुमर्हसि।।

(अर्थ—किनभने जसले जन्म लिन्छ, उसको मृत्यु निश्चित छ,  त्यसरी नै मरेकाको जन्म पनि सुनिश्चित छ। त्यसैकारण नभई नछाड्ने विषयमा तिमीले शोक गर्न योग्य छैन अर्जुन। )

अन्त्यमा अर्जुनले आफूलाई निष्काम कर्मका लागि तयार रहेको र युद्ध गर्न तयार भएको आत्मबोध देखाए पछि श्रीकृष्णले आफ्नो लोककल्याणका लागि भनिएका वाक्यहरू सञ्जयमार्फत् संसारलाई जानकारी दिएका हुन्छन्। मानिसहरूमा जहिले पनि मनमा द्विविधा हुन्छ , त्यस्तो अवस्थामा कसरी मनलाई एकाग्रचित्त बनाउने भन्ने जुन मानसिक अवस्था सृजना गरिन्छ,  गीताले निष्काम कर्मको दर्शन दिएर संसारका लागि पूर्वीय दर्शनको नयाँ ज्योति फैलाएको देखिन्छ र तत्कालको अवस्थामा पुनर्जागरणको नयाँ बिगुल फुकेको बुझ्न कठिन छैन। त्यसैले गीतामा जसले जे चाहना राख्यो, त्यही प्राप्त गर्छ भन्ने भनाइ पनि छ किनभने यसका सूत्रहरूको व्याख्या गर्नका लागि अनेक तरिका रहेछन्। अनि श्रीकृष्णले भनेको यस्तो पनि रहेछ अन्तमा—जुन व्यक्तिले हामी दुईको यस धर्ममय संवादरुपी गीताशास्त्रलाई पढ्छ,  उसद्वारा पनि म ज्ञानयज्ञद्वारा पूजित हुन्छु भन्ने मेरो धारणा छ। सत्य, धर्म र ज्ञानका लागि दिइएको गीताज्ञानले मानिसहरूमा कर्म गर्ने प्रेरणा प्राप्त भइरहने छ र यसको नयाँ नयाँ अनुशीलन भई रहने छ भन्ने कामना गर्नु नै श्रेयस्कर छ।

र अन्त्यमा,

आध्यात्मिक तथा दार्शनिक अर्थमा गीताप्रति साख्यभाव राख्नेहरूले गीतालाई यसप्रकारले चेतनाको माथिल्लो श्रोत मानेको पाइन्छ—

देवकीनन्दन श्रकिृष्णद्वारा गाइएको गीता मात्र एक शास्त्र हो,  देवकीनन्दन श्रीकृष्ण एकमात्र देवता हुन्,  उनको नाम श्रीकृष्णमात्र महामन्त्र हो र उनको सेवा नै एकमात्र कर्तव्य हो।

एकं शास्त्रं देवकीपुत्रगीत—मेको देवो देवकीपुत्र एव।

एको मन्त्रस्तस्य नामानि यानि,  कर्माप्येकं तस्य देवस्य सेवा।

 

आवरण कला सौजन्यः हरेकृष्ण मुभमेन्ट

श्रोत: हरिविनोद अधिकारी/आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *