राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौं : प्रधानमन्त्री दाहाल

'प्रचण्डले भ्रष्टाचार गरे पनि नछोड्नू भनेको छु'

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाललगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन्।

शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताए।

सभामा प्रधानमन्त्रीले भन्नुभयो, ‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाललगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।’

उनले सो महासभामा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे पनि कुरा राख्ने बताए।

लगत्तै हुने चीन भ्रमणमा हिल्सा र कोरला नाका सञ्चालनमा ल्याउने पहल हुने पनि उनले बताए। चीनसँग पनि विद्युत व्यापार सम्झौता हुने विश्वास आफूले लिएको उनको भनाइ थियो। पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउनेबारे पनि गम्भीर छलफल हुने उनले बताए।

फरक प्रसंगमा उनले समाजवादी मोर्चा आवेगमा नबनाइएको बताए। प्रधानमन्त्रीले भने, ‘मोर्चा कुनै आवेगमा बनाइएको होइन। सानो उद्देश्य लिएर बनाइएको पनि होइन। निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन। यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो।’

उनले प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउन समाजवादी मोर्चा गठन भएको समेत बताए।

‘यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौँ। विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो। माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो। मलाई खुसी छ,’ प्रधानमन्त्रीले भने, ‘सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाएका हौँ।’

उनले विभाजित सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने र त्यसका लागि समाजवादी मोर्चा पहिलो कदम रहेको बताए।

उनले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडिने र आफू संलग्न भए आफूलाई पनि नछाड्न भनेको बताए।

‘सरकारबारे विभिन्न प्रश्न उठाइएको छ। प्रचण्डले खुट्टा कमाउँछ, आफ्नालाई छोड्छ भन्ने गलत प्रचार गरिएको छ। प्रचण्डले भ्रष्टाचार गरे पनि नछोड्नू भनेको छु,’ उनले भने, ‘दोषी छ भने कांग्रेस, एमाले, माओवादी, समाजवादी जोसुकै भए पनि छोडिँदैन। यो अभियान रोकिँदैन।’

उनले हालको गठबन्धन पाँच वर्ष टिक्ने पनि दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *