उपत्यकामा गाईजात्राको रौनक
सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा आज बिहानैदेखि काठमाडाैं उपत्यकाकाविभिन्न स्थानमा परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलिरहेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा राजधानीको वसन्तपुर दरबार क्षेत्रमा बिहानैदेखि मानिसको भीड लागेको छ ।
एक वर्षभित्र दिवङ्गतका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउनेको लाम लागेको हो । गाई वा गाईका रूपमा सिँगारी जात्राका लागि निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको देखिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
यही धार्मिक विश्वासका आधारमा वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू,’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । मल्लकालदेखि सुरू भएको गाईजात्रा अहिले काठमाडौँ उपत्यकाको मौलिक पर्वका रूपमा स्थापित भइसकेको छ । हनुमानढोका दरबार क्षेत्रका सुमन खड्गी गाईजात्राका अवसरमा हर्षोल्लासपूर्ण रूपमा बिहानदेखि नै कार्यक्रम भइरहेको बताउँछन् । काठमाडौँमा भने भोलि पनि गाईजात्रा मनाउने तयारी केही मानिसले गरेको उनी सुनाउँछन् । जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउने परम्परा नभएका केही परिवारले भने शुक्रबार गाईजात्रा मनाउन लागेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने जनैपूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी र गाईजात्रा पर्व आजै मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ । शुक्रबार सूर्योदयकालमा प्रतिपदा तिथि नभेटी तिथि टुटेकाले आजै गाईजात्रा मनाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीको भनाइछ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । यसै आधारमा काठमाडौँमा निस्कने सबैजसो गाईजात्रा हनुमानढोका दरबार क्षेत्र आइपुग्छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिन्छ । भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । गाईजात्राकै अवसर पारेर युट्युबमा नयाँ हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि प्रस्तुत हुने गरेको छ ।
हास्यव्यङ्ग्यका रूपमा गाईजात्रा
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै वि. सं. २०१७ पुस १ गतेको शाही कू पछि गाईजात्रामा पनि प्रतिबन्ध लगाइएकामा विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्य व्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने गरेको छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
हिजोआज गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना समेत गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीति समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
गाईजात्राका अवसरमा आज पनि राजधानीका दर्जनौँ स्थानमा कलाकारले हास्यव्यङ्ग्य कार्यक्रम राखेको जनाइएको छ । कलाकारका कार्यक्रम विशेषगरी राजनीतिकलगायत क्षेत्रमा देखिएका विकृतिका विषयमा प्रहार गरिएको हुन्छ ।
प्रतिक्रिया