एक यस्तो मन्दिर जसलाई ध्वस्त गर्न खोज्दा मुगल सम्राट औरंगजेबले गर्भगृहबाट भाग्नुपरेको थियो

जसका लागि नर्मदाले बदलेकी थिइन् आफ्नो मार्ग

माता नर्मदाको काखमा अवस्थित मध्य प्रदेशको संस्कारधानी जबलपुरमा यस्ता धेरै मन्दिरहरू छन् जसको इतिहास गणना गर्न निकै कठिन छ। तीमध्ये धेरै मन्दिरहरू दूरदराजमा अवस्थित छन्।

यस्तै एउटा मन्दिर नर्मदाबाट केही टाढा लगभग ७० फिट अग्लो पहाडमा अवस्थित छ। विश्व प्रसिद्ध भेडाघाट नजिकै अवस्थित चौसठ योगिनी मन्दिर सम्भवतः भारतको एक मात्र मन्दिर हो, जहाँ भगवान् शिव र माता पार्वतीको विवाहको मूर्ति स्थापना गरिएको छ।

यस मन्दिरका लागि नर्मदाले पनि आफ्नो दिशा बदलेको बताइन्छ। देशका अन्य धेरै मन्दिरहरूजस्तै यो पनि औरंगजेबको इस्लामिक कट्टरपन्थीको सिकार भयो, तर मन्दिरको गर्भगृहमा स्थापित मूर्तिलाई उनले कुनै हानि पुर्‍याउन सकेनन्।

इतिहास
किंवदन्तिहरूअनुसार एक पटक भगवान् शिव र माता पार्वती यात्रामा निस्किएपछि उनीहरूले भेडाघाट नजिकैको अग्लो पहाडमा विश्राम गर्ने निर्णय गरे।

यस स्थानमा सुवर्ण नामका ऋषिले तपस्या गरिरहेका थिए जो भगवान् शिवलाई देखेर प्रशन्न भए र भगवान् शिव नर्मदाको पूजा गरेर नफर्कुन्जेल त्यही पहाडमा विराजमान रहून् भनी प्रार्थना गरे।

नर्मदाको पूजा गर्दागर्दै सुवर्ण ऋषिले सोचे कि यदि भगवान् यहाँ सदाका लागि विराजमान भए भने यो ठाउँको कल्याण हुनेछ, त्यसैले सुवर्ण ऋषिले नर्मदामा समाधि ग्रहण गरे।

त्यसबेलादेखि आज पनि उक्त पहाडमा भक्तजनले शिवको आशीर्वाद प्राप्त गर्ने गरेको विश्वास गरिन्छ। नर्मदालाई भगवान् शिवले आफ्नो मार्ग परिवर्तन गर्न आदेश दिएको मानिन्छ ताकि भक्तहरूलाई मन्दिर पुग्न कठिनाइ नहोस्।

यसपछि संगमरमरका कडा ढुंगाहरू दहीजस्तै नरम भएका थिए जसका कारण नर्मदालाई आफ्नो मार्ग परिवर्तन गर्न कुनै कठिनाइ भएन।

चौसठ योगिनी मन्दिरको निर्माण १० औं शताब्दीमा कलचुरी शासक युवराजदेव प्रथमले गराएका थिए। भगवान् शिव र माता पार्वतीलगायत योगिनीहरूको आशीर्वाद लिनका लागि उनले यो मन्दिर निर्माण गराएका थिए। युवराजदेवपछि १२ औं शताब्दीमा शैव परम्परामा पारंगत गुजरातकी रानी गोसलदेवीले चौसठ योगिनी मन्दिरमा गौरीशंकर मन्दिर निर्माण गराएकी थिइन्।

मध्य प्रदेशको मुरैना जिल्लामा रहेको चौसठ योगिनी मन्दिरजस्तै यो मन्दिर पनि तन्त्र साधनाको एक महान् स्थान थियो। यो मन्दिर समय गणना र पञ्चांग तयारीका लागि उत्तम स्थान मानिन्थ्यो जहाँ भारत र विदेशबाट विद्यार्थीहरू ज्योतिष, गणित, संस्कृत साहित्य र तान्त्रिक विज्ञान पढ्न आउने गर्दथे।

१० औं शताब्दीको यो मन्दिर त्यो समयको आयुर्वेद कलेज थियो। खुल्ला आकाशमुनि ग्रह र नक्षत्रको गणनासँगै आयुर्वेदको शिक्षा पनि दिइन्थ्यो।

संरचना र इस्लामिक आक्रमण
यो मन्दिर ढुंगाले बनेको चौतारामा निर्माण गरिएको छ। योगिनीहरूका मूर्तिहरू त्रिभुजाकार कोणमा स्थापित छन्। मन्दिर परिसरको गोलाकार संरचनाको मध्यभागमा रहेको गर्भगृहमा गौरीशंकरको मूर्ति स्थापना गरिएको छ।

नन्दीमा विराजमान भगवान् शिव र माता पार्वतीको विवाहको मूर्ति सम्भवतः भारतमा अन्त कतै पनि छैन। मुख्य मन्दिरको अगाडि नन्दीको मूर्ति छ र सानो चौतारामा शिवलिंग स्थापना गरिएको छ, जहाँ भक्तहरूले विभिन्न अनुष्ठानहरू गर्छन्।

यद्यपि, मन्दिरमा रहेका योगिनीहरूका मूर्तिहरू तोडफोड गरिएको छ र यो काम अरू कसैले नभई इस्लामिक आक्रमणकारी औरंगजेबले गरेको थिए, जसले आफ्नो शासनकालमा हजारौं हिन्दू मन्दिरहरूलाई निशाना बनाएका थिए।

भनिन्छ, औरंगजेबले आफ्नो तरवारले एक-एक योगिनीका मूर्तिहरू भत्काएका थिए, तर गर्भगृहमा स्थापित गौरीशंकरको मूर्ति भत्काउन जाँदा दैवी चमत्कारका कारण उनले भयभीत भएर त्यहाँबाट भाग्नुपरेको थियो।

कसरी पुग्ने मन्दिर?
जबलपुर मध्य प्रदेशका चार प्रमुख सहरहरूमध्ये एक हो, त्यसैले यहाँ पुग्नका लागि यातायातका साधन र सहरभित्र परिवहन व्यवस्था दुवै राम्रो छ।

मन्दिरको सबैभन्दा नजिकको हवाई अड्डा जबलपुर डुमना विनस्थाल हो जुन मन्दिरबाट लगभग ३४ किलोमिटर टाढा छ। यसबाहेक इन्दौरको देवी अहिल्याबाई विमानस्थल लगभग ५३४ किलोमिटरको दूरीमा छ।

जबलपुर मध्य भारतको एक प्रमुख रेलवे जंक्शन हो। जंक्शनदेखि चौसठ योगिनी मन्दिरसम्मको दूरी २२ किलोमिटर छ।

यसबाहेक मध्य प्रदेशका प्रमुख सहरहरूसहित देशका प्रमुख सहरहरूबाट सडकमार्गबाट जबलपुर सजिलै पुग्न सकिन्छ।

-ओपइन्डियाबाट अनुवाद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *