ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी

'संघको इतिहासको गौरवलाई कायम राख्दै वर्तमानको जिम्मेवारी पूरा गर्दै भविष्यमा अझ उचाइमा पुर्‍याउने दृढता'

साढे दुई दशकभन्दा बढी समयदेखि निजी क्षेत्रको हितका लागि क्रियाशील रवीन्द्रराज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

संघको यही असोज १९ गते शुक्रवार हुने ४४ औं साधारणसभा तथा निर्वाचनमा पुस्तौंदेखि तामापित्तल व्यवसायमा संलग्न ताम्रकारले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘अध्यक्षमा मेरो उम्मेदवारी पुस्तौंदेखि तामापित्तल व्यवसायमा संलग्न एक हस्तकलाकर्मी र चेम्बर अभियानमा लागेको गति र गन्तव्यको परिणत हो,’ उम्मेदवार ताम्रकारले पत्रकार भेटघाटमा भने।

५६ वर्षको इतिहास बोकेको संघमा ताम्रकारले २५ वर्षभन्दा बढी समयदेखि विभिन्न पदमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रूपमा केलाउन सक्ने अग्रज र अनुभवीको रूपमा आम व्यवसायीमाझ ताम्रकारको छवि बनेको छ।

पूर्वअध्यक्ष नरेशकुमार श्रेष्ठको कार्यकालमा कार्यसमिति सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक रहेका ताम्रकार मृगेन्द्रमान प्रधानको नेतृत्वमा बनेको कार्यसमितिमा पनि सोही समितिको संयोजकको जिम्मेवारीमा थिए।

त्यसैगरी ताम्रकार अजरमान जोशीको नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए।

संघले ललितपुर उपमहानगरपालिका र ज्यापू समाजसँग मिलेर २०६९ चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना गरेको ललितपुर महोत्सवको सदस्यसचिव रहेका ताम्रकारले संघको अग्रसरतामा २०७५ सालमा खड्गजात्रा (पायः जात्रा) पुनःआगमन गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

स्वर्गीय बेखानाथ श्रेष्ठको अग्रसरतामा २०२३ साल चैत्र ४ गते स्थापना भएको संघमा हरेक वर्ष चैत्र ४ गते उद्योगी, व्यवसायीहरू भेला भएर संस्थापक र अग्रजहरूलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्परा सुरू गर्न ताम्रकारले अग्रणी भूमिका निर्वाह गरेका थिए।

व्यवसायीका अतिरिक्त ताम्रकार ललितपुरको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषतालाई संरक्षण र प्रवर्द्धन गर्ने कार्यका साथै सामाजिक हितमा दत्तचित भएर लागिरहेका छन्।

यसअघि ताम्राकार समाजको दुई कार्यकाल अध्यक्ष रहिसकेका ताम्रकारले ताम्रकार समाजमार्फत ललितपुरका विभिन्न जातीय समाज, खलःपुचःबीच आपसी समन्वय र सद्भावको वातावरण बनाई भाषा, संस्कृति संरक्षणमा पनि लामो समय खर्चिएका छन्।

यसका अतिरिक्त उनले विभिन्न संघसंस्थाहरूको नेतृत्वदायी भूमिका पनि सफलतापूर्वक निर्वाह गरिसकेका छन्। उनी हाल नोवल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा नेपाल तामापित्तल व्यवसायी संघका महासचिव पनि हुन्।

निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा निरन्तर कलम चलाउँदै आएका ताम्रकारले आफ्नो समग्र अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रूपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहर्‍याउने अर्जुनदृष्टि लिएर निर्वाचनमा होमिएको बताए।

‘मेरो जीवनको अधिकाशं समय उद्योग र वाणिज्य क्षेत्रमा बिताइसकेको छु। मेरो ध्येय र एजेण्डा अहिलेसम्मको कार्यले देखाइसकेको छ। अब एकचोटि अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै वर्तमानको जिम्मेवारीलाई पूरा गर्दै भविष्यमा संंघलाई अझ उचाइमा पुर्‍याउने दृढता रहेको छ। अध्यक्षमा उम्मेदवारी दिने निर्णय यही सोच, अनुभव र प्रतिबद्धताको सम्मिश्रण हो,’ ताम्रकारले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर